मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल



काठमाडौं, ३  पुस । राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिए लगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ ।

रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डका कार्यकारी अधिकृत ९सिइओ० महाप्रसाद अधिकारीले रेल सञ्चालनका लागि लगानी खोज्न नसकिएको स्वीकार गरे । ‘राजधानीमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको हो । रेल सञ्चालन गर्न विभागले लगानी जुटाउन नसकेपछि सरकारले लगानी बोर्डलाई जिम्मा दिएको थियो ।

लगानी बोर्डले रेलवे मार्ग निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न मेट्रो नेपाल प्रालिलाई ठेक्का दिएको थियो । तर, सो ठेकेदार कम्पनीको कार्यविधि चित्त बुझ्दो नभएपछि बोर्डले प्रालिसँगको सबै सम्झौता रद्द गरेको थियो ।

बोर्डले प्रालिलाई मेट्रो रेल निर्माणको डिपिआर तयारीका लागि टिओआर बनाउन २ फागुन ०६९ मै दिने निर्णय गरेको थियो । प्रालिको टिओआर चित्त बुझ्दो भए रेल निर्माणका लागि टेन्डर आह्वान गर्ने योजनामा बोर्ड थियो । तर, प्रालिले दुई वर्षसम्म पनि चित्त बुझ्दो टिओआर बुझाउन नसकेको बोर्डको दाबी छ ।

महत्वाकांक्षी ‘मेट्रो रेल’को सञ्जाल उपत्यकाका ठूला सहरलाई लक्षित गरी निर्माण गर्ने तयारी थियो । उपत्यकामा ‘मेट्रो रेल’ निर्माणको सम्भाव्यता अध्ययन रेलवे विभागको संयोजकत्वमा कोरियन कम्पनी छुङ सू इन्जिनियरिङले तयार गरेको थियो । यसका लागि कम्पनीलाई एक वर्ष लागेको थियो ।

अध्ययन अनुसार उपत्यका भित्र पाँच लाइनमा सञ्चालन हुन्थे ‘मेट्रो रेल’ । पहिलो, दोस्रो र तेस्रो लाइनमा गुड्ने रेलका लागि लिक ‘फ्लाइओभर’मा हुन्थे । चौथो र पाँचौँ लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिन्थ्यो । पहिलो लाइनमा चल्ने रेलको रुट सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोक सम्म हुने व्यवस्था थियो । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म हुने उल्लेख थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथवरिपरि निर्माण हुने व्यवस्था थियो ।

चौथो नम्बरको अन्डर ग्राउन्डमा चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्ली बजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गरिने डिपिआर प्रतिवेदनमा उल्लेख थियो । पाँचौँका लागि धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार हुँदै गोंगबुसम्मको लिक निर्माण गरिने व्यवस्था मिलाइएको थियो भन्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित : ३ पुष २०७३, आईतवार ०३:३४