१७ पुसदेखि ट्याक्सीमा कम्प्युटर बिलिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१७ पुसदेखि ट्याक्सीमा कम्प्युटर बिलिङ



काठमाडौं, ५ पुस  । सरकारले १७ पुसदेखि ट्याक्सीमा यात्राको दूरी र तोकिएको भाडादरअनुसार लाग्ने रकमको कम्प्युटरकृत बिल यात्रुले पाउने व्यवस्था गर्दै छ । यो कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ट्याक्सीचालकले मौखिक रूपमा ‘यति रकम देऊ’ भन्ने पाउने छैनन् । उनीहरूले तोकिएको भाडादर अनुसारको बिल दिनेछन् र, बिल अनुसारको रकम यात्रुले तिर्नुपर्नेछ ।

साथै, तोकिएको भाडाभन्दा बढी रकम ट्याक्सी चालकले लिएको पाइएमा यात्रुले उजुरी गर्न सक्नेछन् । किनकि, बिलमा तिर्नुपर्ने रकमबाहेक ट्याक्सी नम्बर, पार गरेको दूरी र ट्याक्सी चालकको नामसमेत हुनेछ ।

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रूपमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) कार्यान्वयन गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘यसपछि क्रमशः विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत, घोराहीलगायत विभिन्न ठाउँमा सुरु गरिनेछ,’ उनले भने ।

प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर बिल प्राप्त गर्न सक्ने व्यवस्था गरिने घोषणा गरेका थिए । २३ भदौमा व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीले गरेको संबोधनमा उक्त घोषणा गरिएको थियो । त्यसै अनुसार बिलिङ प्रणाली कार्यान्वयन गर्न लागिएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।

यो प्रणाली लागू भएपछि काठमाडौंमा ट्याक्सीधनीले अनिवार्य रूपमा मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो इकाई बालाजुबाट जाँचपास गराउनुपर्नेछ । १७ पुसदेखि ट्याक्सी मिटर नवीकरण–नामसारी गर्दासमेत अनिवार्य प्रिन्टर जडित मिटर मात्र नवीकरण–नामसारी गरिने भएको छ ।

राजधानीमा मात्र हाल ८ हजार ५ सयवटा मिटर ट्याक्सी छन् । यी सबैलाई ७ साउन २०७४ भित्रमा क्रमशः मिटर बिलिङमा लैजाने तयारी छ । त्यसका लागि ‘ट्याक्सीको लट’अनुसार ट्याक्सी नम्बर विभाजन गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०३:२१