किन बनेन केन्द्रीय बैंकको भवन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किन बनेन केन्द्रीय बैंकको भवन ?



काठमाडौं, ६ पुस  । मुलुकको बहुमूल्य सम्पत्ति, सुन र पैसाको ढुकुटी रहने केन्द्रीय बैंकको भवन भूकम्प गएको झन्डै २ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । ०७२ साल वैशाखको भूकम्पले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार, बैंकिङ कार्यालय थापाथली र टक्सार विभाग सुन्धाराका भवनहरू भत्किएका थिए ।

भत्किएको २० महिनासम्म पनि पुनर्निर्माण हुने सुरसार छैन । भवन बन्न नसक्नुले मुलुकको केन्द्रिय बैंक दयनीय देखिएको छ । यसले मुलुकको ढुकुटी नै असुरक्षित बन्दै गएकोमा विज्ञहरूको चासो छ ।

हालसम्म भत्किएका संरचनाहरू हटाउने कामसमेत भएको छैन। ‘माघदेखि घर भत्काउने काम सुरु हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि भवन निर्माणको काम सुरु गछौं ।’ भूकम्प गएको २० महिनासम्म भवनको लागत मूल्यांकन र डिजाइनसमेत तयार भएको छैन ।

परामर्शदाता छनोटकै लागि झन्डै २ महिना समय खर्चिएको छ । भूकम्पले भत्काएका सर्वसाधारणका करिब ६ लाख घरहरू बन्न नसकेको विद्यमान अवस्थामा राष्ट्र बैंकको भवन पनि बन्न नसक्नु स्वाभाविक नै मानिएला । तर, सर्वसाधारण जस्तै अनुदान पर्खनु नपर्ने र ढुकुटि समेत सुरक्षा दिनुपर्ने निकायको लाचारी टिढलाग्दो छ।

‘राष्ट्र बैंक मुलुकको धन सम्पत्ति व्यवस्थापन र सुरक्षण गर्ने निकाय हो,’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले भने, ‘त्यसैले ढुकुटी थन्क्याउने घर पनि बलियो र सुरक्षित हुनुपर्छ।’ भत्किएको जीर्ण घरमा लामो समयसम्म ढुकुटी राख्दा जोखिम बढी हुने उनको तर्क छ। ‘टहरा र जीर्ण घरबाट सेवा दिने काम छिट्टै रोक्नुपर्छ,’ उनले भने । आजको कान्तिपुरबाट ।

प्रकाशित : ६ पुष २०७३, बुधबार ०३:०८