दोस्रो नेपाल पूर्वाधार सम्मेलन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दोस्रो नेपाल पूर्वाधार सम्मेलन हुने



काठमाडौं ६ पुस  । आगामी फागुन ८ र ९ गते काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ । नेपालको पूर्वाधार विकासको वृहत्तर खाका तयार पार्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

नेपाल उद्योग परिसंघले बुधबार एक पत्रकार सम्मेलन गरी पूर्वाधार सम्मेलन २०१७ बारे जानकारी गराएको हो । पूर्वाधार विकासका लागि आवश्यक सबै पक्षबारे छलफल हुने गरी सम्मेलन गर्न लागिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

उनले सम्मेलनले पूर्वाधार विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्न सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

सम्मेलनमा चीन, भारत लगायतका देशको प्रतिनिधित्व हुने र त्यहाँको पूर्वाधार विकासको अनुभव साटासाट गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

नेपालको पूर्वाधार विकासको बाटो र त्यसका लागि आवश्यक पर्ने लगानीको जोहो गर्न सम्मेलन सफल हुने विश्वास पनि आयोजकहरुले व्यक्त गरेका छन ।

नेपालको पूर्वाधार विकासमा विभिन्न देशका निजी क्षेत्रको लगानी भित्रयाउन भन्दै परिसंघले यस अघि पनि पूर्वाधार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुने परिसंघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निजी क्षेत्रको लगानीमार्फत कम विकसित मुलुकहरुको पूर्वाधार विकासको गतिलाई तीव्रता दिन यस्ता सम्मेलनहरु उपयोगी हुने बताइएको छ । नेपाल उद्योग परिसंघ निजी क्षेत्रको सहकार्यमार्फत मुलुकको औद्योगिक क्षेत्रको विकासमा लागि परेको व्यवसायिक संस्था हो ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १२:३२