भवन भट्टद्वारा स्थापित एक करोड राशीको ‘भवन-किर्ती रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

भवन भट्टद्वारा स्थापित एक करोड राशीको ‘भवन-किर्ती रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान



काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टले आफ्नो जन्मदिनको अवसर पारेर आफैंद्वारा स्थापित रु.एक करोड राशीको ‘भवनकिर्ती रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्र तथा केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरेका छन् ।

मंगलवार एनआरएनएको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रधान गरिएको हो । नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्बद्र्धनका लागि पु¥याउनु भएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार नेपालमा प्रदान गरिने पुरस्कार मध्ये सबैभन्दा ठूलो राशीको पुरस्कार पनि हो । भवन भट्टद्वारा स्थापित यो पुरस्कार गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका अवसरमा घोषणा गरिएको थियो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय आविष्कार केन्द्र सबैका लागि पे्ररणाको स्रोत बन्नुपर्ने बताउँदै विज्ञान र प्रविधिको बिकासलाई पनि महत्व दिनुपर्ने बताए । मन्त्री पौडेलले एनआरएनले उद्योग व्यवसायीका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नै देशमा लगानी बढाउन आग्रह समेत गरे ।

बीबी ट्रष्टका अध्यक्ष तथा ‘भवनकिर्ती रत्न’ पुरस्कारका संस्थापक भवन भट्टले प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार तथा सम्मान नेपालको विकास र नेपालीको हितका लागि काम गर्ने संस्था वा व्यक्तिलाई प्रदान गरिने जानकारी गराएका छन् । ‘हामी बाँचेको युगमा हाम्रो देश र हाम्रो समाजको निमित्त सशक्त योगदान गर्ने कर्मवीर, मानवीयताकाप्रखर हिमायतीतथा नेपाल र नेपालीको किर्ती देश र विदेशमा सुवाशित गराउने एक प्रज्वलितताराको खोजी हो ‘भवनकिर्ती रत्न’ पुरस्कार,’ उनले भने ।

गोर्खा जिल्लाको तान्द्राङमा एक मध्यम परिवारमा जन्मिएका भट्ट युवा अवस्थामा नै जापानमा विद्यार्थी तथा कामदारको रुपमा प्रवेश गरेसँगै सफल व्यवसायीको रुपमा आफ्नो छवि स्थापित गराएका छन् । आफ्ना पिता यदु प्रसाद भट्टलाई आदर्श मान्ने भवन भट्टले आफूले जापानमा जति सम्पत्ति कमाएता पनि सो सम्पत्ति नेपाल र नेपालीका लागि उपयोग हुन नसके त्यसको तात्विक महत्व नहुने बताएका छन् । उनले करिव डेढ दशकदेखि नेपालमा बीबी होल्डिङ्स स्थापना गरी होटल, शिक्षा, पर्यटन, हवाई सेवा, उर्जा, संचार तथा विभिन्न व्यापारमा लगानी गरेर हजारौंलाई रोजगारी दिएका छन् । व्यवसायमा व्यस्त भइरहेकै समयमा भट्ट स्वामी आनन्द देवको नामाकरण सहित ओशोको अनुयायी भएर ओशो आश्रममा योग तथा ध्यानमा समेत समय बिताउन थालेका छन् ।

पुरस्कार वितरण समहारोहमा बोल्दै महाविर पुनले आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने बताएका छन् । पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने दाबी समेत गरेका छन् । मुलुकमा उद्यम बढाए मात्रै रोजगारी पनि बढ्ने भन्दै उद्यम बिकासका लागि अनुसनधान तथा आविस्कार जरुरी रहेको बताए ।

ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए । पुनलाई शिक्षा मन्त्री पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, पूर्वअध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरिएको थियो पहिलो वर्ष यो पुरस्कार प्राप्त गर्ने व्यक्ति यसका संस्थापक भट्टले नै चयन गरे पनि आगामी वर्षदेखि एनआरएनए तथा बीबी ट्रष्टले संयुक्त रुपमा पुरस्कार प्राप्त गर्ने संस्था वा व्यक्तित्वको चयन र घोषणा गरिने भट्टको भनाई छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार २१:३१