अमेरिकी डलरमा नयाँ रेकर्ड, यस्ता छन् फाइदा/ बेफाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अमेरिकी डलरमा नयाँ रेकर्ड, यस्ता छन् फाइदा/ बेफाइदा



काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । अमेरिकी डलरको भाउ अकासिएर नेपालको इीतहासमै नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि निर्धारण गरेको मूल्य अनुसार १ अमेरिकी डलरको विनिमय खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८९ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको विनिमय बिक्री दर १२९.६८ रुपैयाँ निर्धारण गरेको थियो । शुक्रबारभन्दा शनिबार र आइतबारका लागि निर्धारण गरिएको विनिमय बिक्रीदरभन्दा २१ पैसाले बढी हो । त्यसअघि गत ५ साउनमा १ अमेरिकी डलरको विनिमय दर बढेर १२८.२९ रुपैयाँ पुगेको थियो ।

डलरको वृद्धिका फाइदा

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

डलर बलियो हुँदाका बेफाइदा

विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दायित्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार ०८:१४