ओलीले डेढ वर्ष अगाडि उद्घाटन गरेको धरहरा निर्माण सक्न अझै २० प्रतिशत बाँकी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ओलीले डेढ वर्ष अगाडि उद्घाटन गरेको धरहरा निर्माण सक्न अझै २० प्रतिशत बाँकी



काठमाडौं । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए ।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गरे ।

धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ । ब्लक निर्माणका लागि खन्दा दूरसञ्चार प्राधिकरणका १८ हजार तार भेटिएको खबर आजको गोरखापत्र दैनिकमा छ । त्यहाँ काम गर्दा एकै पटक १८ हजार टेलिफोन लाइनमा समस्या आउने भएकाले सो ठाउँमा काम अगाडि बढाइएको छैन । त्यस्तै सुन्धारामा पहिलेजस्तै पानीको व्यवस्थापन हुनुपर्ने काम पनि बाँकी छ । धरहरा क्षेत्रमा आउने पानी र पानी निकासको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ ।

धरहराको उद्घाटन गत २०७८ साल वैशाखमा गरिएको थियो । तीन अर्ब ४९ करोड रुपियाँको लागतमा धरहराको पुनःनिर्माण हुँदैछ । एकाइ प्रमुख अधिकारीले धरहरा निर्माणका लागि चौथो पटक म्याद थपिए पनि सो अवधिमा समेत निर्माण सम्पन्न हुन सक्ने अवस्था नरहेको बताए । पछिल्लो पटक आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ । यसअघि कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थपिएको थियो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार ०८:२१