श्री मनाकामना साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

श्री मनाकामना साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । काभ्रेको बनेपा, ५ मा अवस्थित श्री मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिक साधारणसभा असोज ३ गते सोमबार सम्पन्न भएको छ ।

सभामा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्वव्यापी रुपमा देखिएको आर्थिक असहजताको प्रभाव नेपालमा पनि परेको र बैंकले एक्कासी व्याजदर बढाउँदा सहकारी क्षेत्र प्रभावित बनेको बताए । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकनका सन्दर्भमा नेफ्स्कूनले मन्त्रालय, विभाग समक्ष कुरा राखिसकेको र छिट्टै एउटा टुङ्गोमा पुग्ने विश्वास लिएको बताए ।

सभामा साकोसका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन मार्फत साकोसको समग्र वित्तीय अवस्था बारे प्रस्तुतीकरण गरेका थिए । हाल ८ हजार १ सय ६१ सेयर सदस्य रहेको साकोसको कुल वासलात रु. २ अर्ब ८ करोड पुगेको प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो । १ अर्ब ४९ करोड रुपैंया बचत, १ अर्ब ७४ करोड ऋण लगानी, ८ करोड ६८ लाख जगेडा कोष, ४ करोड ५७ लाख अन्य कोषहरु पुर्याएको साकोसले ५ करोड ५१ लाख रुपैंया नाफा गर्न सफल भएको जनाएको छ । साकोसमा ६ सय बालबचतकर्ता सदस्यहरु छन् ।

साधारणसभा समारोहमार्फत साकोसका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार (बनेपा निस्ट कलेजबाट नेपाल भरका माध्यामिक विद्यालयबाट कक्षा १२ को विज्ञान विषयमा सर्बोत्कृष्ट ग्रेड 3.96 GPA प्राप्त गर्न सफल) विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

सभामा जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष भीम शर्मा, काभ्रे बचत संघका सल्लाहकार शम्भुलाल श्रेठ, जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष सोम प्रसाद हुमागाई लगातयको विशेष आथित्यता रहको थियो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार ०८:३३