न्यूरोडमा ठूलो मोवाइल महोत्सव हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

न्यूरोडमा ठूलो मोवाइल महोत्सव हुँदै



काठमाडाै १० पुस । नेपाल मोवाइल व्यवसायी संघको आयोजना र निजी क्षेत्रको अग्रणी दूरसंचार प्रदायक कम्पनी एनसेलको मुख्य प्रायोजनमा न्यूरोडमा हालसम्मकै ठूलो र भव्य मोवाइल महोत्सव हुने भएको छ ।

आगामी पुस १३ देखि १९ गतेसम्म न्यूरोडको पाको लगायतका क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको हो ।  आइतबार महोत्सवको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका संयोजक पुरुषोत्तम बस्नेतले अहिलेसम्मकै सबैभन्दा ठूलो मोवाइल महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सव अवधिमा न्यूरोडको पाको र आसपास क्षेत्र, ताम्राकार हाउस, पिपुुल्स प्लाजा लगायत स्थानका २ सय बढी मोवाइल पसलहरुलाई विशेष ढंगले सजाइनेछ । आधुनिक अवधारणा अनुसार ठूलो बजारलाई नै महोत्सवमय बनाइने उल्लेख गर्दै उनले सो अवसरमा एनसेलले प्रत्येक स्मार्टफोनका खरीदकर्तालाई एउटा सीम र १ सय एमबीको डाटा कार्ड उपहार दिनेछ । ‘महोत्सव घुम्न आउनेहरुलाई समेत खालि हात पठाउँदैनौ ।’ उनले भने–‘दर्शकहरुलाई समेत उपहार छ । नियमित बाहेक लक्की ड्रबाट समेत उपहार पाइनेछ ।’

यसबाहेक सबै कम्पनीका मोवाइल खरीदमा विशेष छुटको व्यवस्था समेत गरिएको छ । मोवाइल महोत्सवको अवसर पारेर जोपो र लियागो ब्राण्डका मोवाइलको औपचारिक लञ्च समेत हुने कार्यक्रम राखिएको उनले जानकारी दिए ।

मोवाइल मेलाको साथमा विशेष गेमिङ जोन, दैनिक कन्सर्ट, फूड कोर्ट लगायतको समेत सुविधा राखिएको उनले बताए ।

महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै संघका प्रवक्ता सन्दीपमान श्रेष्ठले ‘जहाँ मोवाइल बजार, त्यहाँ मोवाइल महोत्सव’को मूल नाराको साथमा आयोजना हुन लागेको ‘न्यूरोड मोवाइल महोत्सव–२०७३’ को सबै तयारी पूरा भएको उल्लेख गर्दै मोवाइल हबको रुपमा चिनिएको पाको, न्यूरोडको व्यापार प्रवद्र्धन मुख्य उद्देश्य रहेको बताए । महोत्सवमा २ हजार बढी रिटेलरहरु सहभागी हुने र २० भन्दा बढी कम्पनीको प्रायोजन रहेको उनले जानकारी दिए । पाकोको पिपलबोटबाट महोत्सवको रौनक सुुरु हुने र त्यहीबाट विशेष ढंगले पसल तथा सो क्षेत्रलाई सजाइने जानकारी दिए । सो क्रममा भूूगोल पार्कलाई गेमिङ जोनको रुपमा प्रयोग गरिने उल्लेख गर्दै उनले हालसम्मकै सबैभन्दा ठूलो मोवाइल गेम प्रतिस्पर्धा समेत आयोजना हुने बताए ।

महोत्सवमा माइक्रोसफ्टले ‘एउटा मोवाइल किन्दा अर्को सित्तैमा’ भन्ने अफर ल्याउँदैछ भने अन्य मोवाइल कम्पनीहरुले समेत छुट तथा उपहार योजनाको बहार ल्याउनेछन् । ‘मोवाइल मेलामा ५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटमा मोवाइल खरीद गर्न पाइन्छ ।’ श्रेष्ठले भने–‘दैनिक २ लाख बढीले महोत्सव अवलोकन गर्ने आशा छ ।’ उनका अनुसार मोवाइल महोत्सवमा टच एण्ड फिलको अनुुभव समेत अवलोकनकर्ताले गर्न पाउनेछन् ।

महोत्सव अवधिभरमा साबिकको तुलनामा व्यवसायीले ३ गुणा बढीको दरले व्यापार गर्ने आयोजकको विश्वास छ ।

प्रकाशित : १० पुष २०७३, आईतवार ११:५२