पाँच महिनामा ३ खर्ब ८२ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वस्तु आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाँच महिनामा ३ खर्ब ८२ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वस्तु आयात



काठमाडौं,  १२  पुस । पछिल्लो पाँच महिनामा ३ खर्ब ८२ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा भएको आयात गत वर्षको यसै अवधिको तुलनामा ७८।२६ प्रतिशतले बढी हो । तर, यो अवधिमा वस्तु निर्यात ३० अर्ब ६० करोड ५७ लाख रुपैयाँको भएको छ ।

निर्यात भने गत वर्षको मंसिरको तुलनामा १४.०९ प्रतिशतले बढी हो । गत वर्ष भारतीय सीमा नाकाहरूमा भएको अवरोधका कारण आयात प्रभावित भएको थियो ।

चालू वर्षमा स्थिति सहज हुँदा मंसिरसम्म व्यापारघाटामा झनै ठूलो खाडल देखिएको छ । आयात उच्च अंकले बढेको र निर्यातमा खासै सुधार नहुँदा व्यापारघाटा झन्डै दोब्बरले बढेको छ । मंसिरसम्म व्यापारघाटा ८७।४४ प्रतिशतले बढेको छ । भन्सार विभागद्वारा सार्वजनिक मंसिरसम्मको तथ्यांकअनुसार यसअवधिमा कुल वैदेशिक व्यापार भने ७१।१३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष मंसिरसम्म २ खर्ब ४१ अर्बको वस्तु आयात/निर्यात भएकोमा चालू अवधिमा ४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । निर्यात सुस्त र आयात बढेपछि आयात निर्यात अनुपात पनि बढेको छ । गत वर्षको पाँच महिनामा निर्यातको तुलनामा आयात आठ गुणा बढी रहेकोमा यसअवधिमा १२.५ गुणा पुगेको छ ।

यसले कुल व्यापारमा निर्यातको अंश घटेर आयातको अंश बढेको देखिन्छ । कुल व्यापारमा निर्यातको अंश ७.४ प्रतिशत छ भने आयातको ९२.६ प्रतिशत छ । यसअघि गत वर्षको पाँच महिनामा कुल व्यापारमा निर्यातको अंश ११.१ प्रतिशत र आयातको अंश ८८.९ प्रतिशत थियो ।

विभागकाअनुसार पाँच महिनामा भन्सारबाट १ खर्ब ६ अर्ब ५७ करोड १२ लाख रुपैयाँ राजस्व उठेको छ । भन्सारबाट उठेको राजस्व कुल राजस्वको ४९ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरसम्म २ खर्ब ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको छ।

आँकडाअनुसार पछिल्लो पाँच महिनामा विश्वका १ सय ६७ मुलुकसँग नेपालको व्यापार विस्तार भएको देखिन्छ । आयात र निर्यात भने भारततर्फ नै बढी देखिन्छ । यसअवधिमा भारतबाट २ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात र १६ अर्ब ९९ करोड रुपैयाँको निर्यात भएको छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : १२ पुष २०७३, मंगलवार ०५:५९