काठमाडाै महानगरका सहकारीमा बचतकर्ताहरूको भीड बढ्दै, सञ्चालक र कर्मचारी सटर बन्द गर्दै भाग्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

काठमाडाै महानगरका सहकारीमा बचतकर्ताहरूको भीड बढ्दै, सञ्चालक र कर्मचारी सटर बन्द गर्दै भाग्दै



काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा संचालकले बचत फिर्ता नगरेको भन्दै उजुरी गर्नेको संख्या बढेको छ । विनियममा उल्लेख गरिएका निति नियम राम्रोसंग पालना नगरी सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि यस्तो समस्या बढ्दै गएको हो।

महानगरपालिका सहकारी विभागमा दैनिक ४ वटा संस्थाहरुको उजुरी पर्ने गरेको छ । पछिल्लो समय सहकारीमा भएका समस्यालाई व्यक्तिहरु बीच वार्ता गराएर कसरी बचत फिर्ता गराउन सकिन्छ भनेर सुझावहरु दिने, तरलता समस्यामा कसरी बचत फिर्ता गर्न सकिन्छ भनेर बाटो देखाउन आफुहरु लागि परेको महानगर सहकारी विभागकी उपनिर्देशक बिमला कोईरालाले बताईन् ।

कतिपय बजारमा हल्लाको पछाडी लागेर बचत फिर्ता गर्न आउने गरेका छन भने कतिपय उजुरी सहकारीका अध्यक्ष तरलताको अभावले सम्पर्क बिहिन भएको कारणले आउने गरेको उनले बताईन् । विभागमा यस्तो उजुरी अन्य सहकारीको भन्दा बचत तथा ऋण सहकारी संस्था धरै आउने गरेको विभागले जनाएको छ ।

विभागमा अहिले जम्मा ११८ वटा बचत तथा ऋण सहकारी विरुद्ध उजुरी परेको छ । जसमा ७१ वटा सहकारी विरुद्ध परेको उजुरीमा भने महानगर सहकारी विभागबाटै समस्या सामाधान भइरहको जनाएको छ । यस्तै ४७ वटा सहकारी र सञ्चालकहरुलाई कारबाहीका लागि प्रहरी समक्ष लेखि पठाईएको निर्देशक कोईरालाले जानकारी दिइन।

विभागले समस्या समाधान गरेका सहकारीमध्ये धेरैजसोको बचत फिर्ता गराइसकेको छ भने कतिपय सहकारी संस्था व्यवस्थापकबाट रकम हिनामिना गरेको आरोप लागेका छन्। त्यस्तै कतिपय कर्मचारीद्वारा रकम हिनामिना, घरभाडा नतिरेको, सञ्चालक समितिलाई जानकारी नदिई अध्यक्षले मनोमानी कारोबार गरेको, लेखा समिति विवाद, साधारण सभामा नबोलाएको लगाएतका थुप्रै कारणले उजुरी परेका ७१ वटा सहकारीको समस्या निराकरण भइरहेको विभागले जनाएको छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार ०७:५३