तरलताः कतै फालाफाल, कतै अभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तरलताः कतै फालाफाल, कतै अभाव



काठमाडौं, २० पुस  । स्टयाण्र्ड चार्टर्ड बैंकले मंगलबार ७.२५ प्रतिशत ब्याजदरमा होम लोनको स्कीम सार्वजनिक गर्यो । मंगलबारै जनता बैंकले १० प्रतिशत ब्याजदरमा निक्षेप लिने योजना ल्यायो । कुनै वाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा ऋण दिने अनि कुनैले १० प्रतिशत ब्याजदरमै निक्षेप उठाउने स्किमले मुलुकको बैंकिङ क्षेत्रको समग्र अवस्था झल्काएको छ ।
तरलता अभावले अन्य बैंकहरु उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहेका बेला ७.२५ प्रतिशत ब्याजदरमा चार्टर्डको कर्जा अफर एकदमै सस्तो हो । बैंकले घर बनाउनका लागि यो अफर सार्वजनिक गरेको हो । यस्तै, जनताले पनि व्यक्तिगत निक्षेपकर्तालाई उच्च ब्याजदर प्रस्ताव गरेको हो ।

स्टयाण्डर्ड चाटर्ड बैंकका संस्थागत मामला प्रमुख दिवाकर पौडेलले बैंकमा पर्याप्त तरलता भएकाले नयाँ स्कीम ल्याएको बताए । ‘अहिले बजारमा तरलता अभावको कारण कर्जाको ब्याजदर बढी छ,’ उनले भने, ‘यस्तो अवस्थामा ग्राहकले सस्तो ब्याजदरमा पैसा पाउन सक्छन् ।’

२८ वाणिज्य बैंकमध्ये चार/पाँच बैंकमा तरलता अभाव नभएकाले ग्राहकका लागि भने फाइदाजनक अवस्था छ । उदाहरणका लागि सस्तो ब्याजदरमा ऋण लिनको लागि अहिले स्टयाण्र्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक उपयोगी हुन सक्छन् । तर, निक्षेप राख्नको लागि बढी ब्याजदर प्रदान गर्ने बैंकहरु उपयोगी हुन्छन् ।
२०६७/६८ सालमा तरलता संकट भएको समयमा पनि सरकारी बैंकसहित स्टयाण्डर्डलाई तरलताको चाप अरुलाई जस्तै परेको थियो । सरकारी बैंक भएको हुँदा राष्ट्रिय बैंकमा निक्षेप सबैभन्दा बढी छ । कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकको निक्षेप एक खर्ब ४१ अर्ब छ । जबकी कर्जा जम्मा ८६ अर्ब रुपैयाँ मात्रै छ । यस्तै, अरुको तुलनामा सहज स्थितिमा स्टयाण्डर्ड चार्टर्ड, नबिल तथा नेपाल बैंक पनि रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : २० पुष २०७३, बुधबार ०२:५३