घट्याे व्यापार घाटा : ५ खर्ब ३२ अर्बको आयात गर्दा ५४ अर्बको निर्यात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्याे व्यापार घाटा : ५ खर्ब ३२ अर्बको आयात गर्दा ५४ अर्बको निर्यात



काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको चार महिनामा पाँच खर्ब भन्दा बढीको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँको आयात गरेको थियो । जुन गत वर्षको तुलनामा १८.०८ प्रतिशतले आयात घटेको हो ।

विभागको तथ्याङ्अनुसार चार महिनाको अवधिमा नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैंयाको वस्तु निर्यात गरेको थियो । जुन गत बर्षको तुलनामा ३३.३० प्रतिशतले निर्यात घटेको देखिएको छ ।

नेपालले यसै अवधिमै ४ खर्ब ७७ अर्ब ९१ करोड ७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड ७५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । चालु आवमा १५.८८ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, वैदेशिक व्यापार करिब २० प्रतिशतले घटेको छ । यस अवधिमा वैदेशिक व्यापार १९.७९ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात ७.९२ बाट बढेर चालु आवमा ९.७३ पुगेको विभागले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार १६:२९