पोखरामा २० लाखको ब्लड कोल्ड रुम बन्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पोखरामा २० लाखको ब्लड कोल्ड रुम बन्दै



काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँ खर्चेर सो रुम बनाउन लागेको हो ।

विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको माइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य रुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराबीच गतसाता एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिईन् । उनले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताईन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्ष्मण बानियाँ, गैरआवासीय नेपाली अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १५:५४