सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न महानगरपालिकाको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न महानगरपालिकाको निर्देशन



काठमाडौं। काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई आगामी पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ। काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो।

साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाबाट पारित प्रमाणित प्रतिवेदन काठमाण्डौ महागरपालिकाको सहकारी विभागमा बुझाउन पनि निर्देशन दिइएको छ। साधारणसभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ लाई आधार लिन पनि विभागले अनुरोध गरेको छ।

जारी सुचनामा सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्ने उल्लेख गरिएको छ । साथै,साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या नपुग्ने हुँदा गणपूरक संख्या पुर्याएरमात्र साधारणसभा सञ्चालन गर्न भनेकाे छ ।

साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्रलाई तथा मन्तव्यको कार्यक्रम नराखी सो एजेन्डाउपर छलफल गर्ने वातावरण मिलाउने, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेस हुने अन्य सबै प्रतिवेदन तथा विषयउपर पर्याप्त छलफल गराएर मात्र पारित गर्ने भनिएको छ ।

त्यस्तै, सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानुन, मापदण्ड एवं विनियमबमोजिमको योग्यता पुगेका सदस्यहरुमध्येबाट निर्वाचित गर्ने सुचनामा उल्लेख छ ।

साधारणसभाबाट चालु आर्थिक वर्षको संस्थाको हिसाबकिताबको लेखापरीक्षण गर्न एकजना लेखापरीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखापरीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने,
संस्थाको विनियम संशोधन, कार्यविधि, नियमावली, नीति साधारणसभाबाट पारित गर्ने उल्लेख गरिएकाे छ ।

त्यस्तै, संस्थाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारणसभाबाट अनुमोदन गर्ने, साधारणसभाको प्रतिवेदनमा तपसिलबमोजिमका कागजातहरु समावेश गर्ने विषयका बारेमा सुचनामा उल्लेख गरिएको छ ।


प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार ११:३६