कोरोना बीमाको दाबी भुक्तानी शुरु,कस्ले कति पाउछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कोरोना बीमाको दाबी भुक्तानी शुरु,कस्ले कति पाउछन् ?



काठमाडौं । तीन इन्स्योरेन्सले कारोना बीमाको दाबी भुक्तानी गर्ने भएका छन् । कम्पनीहरुले पिसिआर पोजिटिभ भई दाबी गर्ने एक र पारिवारिक बीमालेख खरिद गरेका बीमितहरुलाई पहिलो चरणमा दाबी भुक्तानी गर्न थालेका हुन् ।

भुक्तानी गर्नेमा नेको इन्स्योरेन्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी र शिखर इन्सुरेन्स रहेका छन्।

नेको इन्स्योरेन्सले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको भुक्तानी गर्ने जनाएको छ । कम्पनीले मंसिर १३ गतेदेखि २९ गतेसम्म दैनिक एक सय जनाको दरले र पुस १ गते १०५ जनाको दरले कोरोना बीमाको दाबी भुक्तानी गर्नेछ ।

दाबी भुक्तानीका लागि दाबी गरेका बीमितहरुले काठमाडौं उपत्यकाकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सकिने जनाएको छ ।

यस्तै, उपत्यका बाहिरको हकमा भने आफुले बीमा गरेको कम्पनीको सम्बन्धीत शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानीको लागि सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले मंगलबार देखि कोरोना बीमाको दाबी भुक्तानी दिन थालेको छ । बीमा प्राधिकरण अध्यक्षको रोहवरमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुसँग भएको बैठकको निर्णय अनुसार भुक्तानी थालिएको हो ।

कम्पनीले मंगलबारदेखि कोरोना बीमाको सर्वसाधरण तर्फ (ब्यक्तिगत) दाबी भुक्तानी संलग्न सुचि अनुसार दैनिक अधिकतम १०० जनालाई भुक्तानी हुने जनाएको छ ।

साथै १२७० लटसम्मका चेक बनिसकेको तर नलगेकाहरुले पनि यथाशिघ्र चेक बुझिलिन पनि कम्पनीले आग्रह गरेको छ । कम्पनीले दाबी भुक्तानीको लागि प्राथमिकताको आधारमा एक हजार ७५९ जना बीमितको सूची बनाएको छ ।

शिखर इन्सुरेन्सले पनि मंगलबारदेखि कोरोना बिमाको दाबी भुक्तानी सुरु गर्ने जनाएको छ । कम्पनीले पहिलो चरणमा पहिलो दाबी गर्ने २ हजार ६३५ जना दावीकर्ताहरुलाई दाबी फर्छौट गर्ने जनाएको हो । यस्तै, कम्पनीले दोस्रो चरणमा राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बिमाशुल्क तिरेर कोरोना भाइरस बिमा गर्ने ५ हजार २० जनाहरुलाई प्राथमिकतामा राख्दै दाबी भुक्तानी गर्ने जनाएको छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार १५:०४