तत्काल अर्थतन्त्र जोगाएनौ र सुधारमा लागेनौ भने मुलुक गम्भीर दुर्घटनामा जानेछ : महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

तत्काल अर्थतन्त्र जोगाएनौ र सुधारमा लागेनौ भने मुलुक गम्भीर दुर्घटनामा जानेछ : महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आजै अर्थतन्त्र जोगाएनौ र सुधारमा लागेनौ भने मुलुक गम्भीर दुर्घटनामा जाने बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

आजै हामी सचेत भएर सुधारमा लागेनौ र अर्थतन्त्र जोगाएनौ भने मुलुक गम्भीर दुर्घटनामा जाने भन्दै अर्थतन्त्रले अब कुनै पनि प्रकारको राजनीतिक एवं नीतिगत अस्थीरता थेग्न नसक्ने महासंघले जनाएको छ ।

त्यस्तै, महासंघले जारी गरेको विज्ञप्तीमा ब्याजदर बढाउदा पनि निक्षेप संकलन बढ्न नसकेको जनाएको छ । एक बर्षयता साधारण बचतको ब्याजदर झण्डै दोब्बर बढेको छ भने मुद्यतिको ब्याजदर करिब ५० प्रतिशत बढेको छ तर निक्षेप संकलन भने आठ प्रतिशत हाराहारीमात्रै वृद्धि भएको महासंघले जनाएको छ ।

निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभइ कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न शुरु भएको करिब एक बर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रिय बैंकले अर्थतन्त्र जोगाउन निम्न उपाय अवलम्बन गर्नुपर्ने महासंघको सुझाव छ ।

निजी क्षेत्रको लगानी संकुचित भै राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको चालु पुँजी २०७९ को मार्गदर्शनले व्यवसायमा जटिलता थपेको छ महासंघको भनाई छ ।

यसकारण, चालु पूजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्नुपर्ने महासंघको माग छ । दुई बर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारि राख्नुपर्छ ती सुधार गर्नुपर्ने विषय केन्द्रिय बैंकमा बुझाइसकेको महासंघले जनाएको छ ।

वाणिज्य बैंकहरुको औसत व्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत व्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाको भने महासंघले स्वागत गरेको छ ।

यसका साथै सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु नभएको प्रति महासंघले गुनासो गरेको छ ।

त्यस्तै, पर्यटन सिजनमा ठूला होटलहरुको कारोबारमा सुधार देखिएपनि देशभरि कै औसत हेर्दा अकुपेन्सी ३० देखि ४० प्रतिशतमात्रै छ । रेष्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्क हेर्दा घर जग्गा कारोबार ४८ प्रतिशत र पूंजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

यसरी बजार संकुचित हुँदा चालु आर्थिक बर्षको तीन महिनामा राजस्व १९ प्रतिशतले घटेको छ । संकलित राजस्व भन्दा चालु खर्च नै १७ अर्ब बढि भएको छ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार २३:१७