बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, पुरानै मतदानका आधारमा मत गन्ने आयोगको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, पुरानै मतदानका आधारमा मत गन्ने आयोगको निर्णय



काठमाडाै । बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने भएको छ भने निर्वाचन आयोगले पुरानै मतदानका आधारमा मत गन्ने निर्णय गरेको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले मंसीर ४ गते भएको मतदानका आधारमा मतगणना गर्ने निर्णय गरेको हो ।

बाजुरा र स्याङ्जा-२ को विषयलाई मंगलबार बसेको निर्वाचन आयोगको बैठकमा विवाद भएको थियो। पुनः मतदान गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूबीच सहमति जुट्न सकेको थिएन।

मंसीर ४ गते मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिकामा झडप हुँदा एक युवकको मृत्यु भएपछि चुनावी प्रक्रिया अवरुद्ध भएको थियो। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्।

स्याङ्जा-२ मा पनि विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै विवाद उत्पन्न भएको थियो। मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको थिएन। यो क्षेत्रमा एमाले उम्मेदवार पद्मा अर्याल र कांग्रेसका उम्मेदवार धनराज गुरुङ प्रतिस्पर्धामा छन्।

त्यस्तै, विवाद रहेको दोलखामा भने निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ। आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा स्वच्छ मतदान भएको भन्दै मंसीर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ। यो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटी र माओवादीका गंगा कार्की प्रतिस्पर्धामा छन्।

दोलखाका जस्तै विवाद रहेका बाजुरा र स्याङ्जामा भने आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १४:३१