अर्थतन्त्र नबुझेकाले संकटमा छ भन्छन् त्यो कमजोरी होः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थतन्त्र नबुझेकाले संकटमा छ भन्छन् त्यो कमजोरी होः अर्थमन्त्री शर्मा



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै यसो भन्न गरेको उनले बताए । उनले क्षमता नबढ्नु संकट भएको भन्दै अबको दिनमा सरकारको क्षमता बढाउने र अन्य निकायको पनि क्षमता बढ्न आवश्यक रहेको बताए ।

“अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ थियो ।

“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उनले भने, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”

नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ । अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

‘हिजोभन्दा आज अर्थतन्त्र सुधारको बाटोमा रहेको छ’ शर्माले भने । खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका कारण यता ध्यान दिन नसकेको बताए । अब प्रविधिको प्रयोग गरेर कम गर्ने उनले बताए ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १३:०४