समस्या समाधान गर्न मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा चुक्योः परिसंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

समस्या समाधान गर्न मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा चुक्योः परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले पनि मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हालको समस्या समाधान गर्न चुकेको उसको ठहर छ ।

परिसंघले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल ब्याजदर थप बढ्न नदिने गरि तरलता व्यवस्थापन गरिने छ भन्ने उल्लेख भएतापनि यसका लागि ठोस कदमको अभावमा उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुकेको जनाएको हो ।

अर्थतन्त्रको हालको प्रमुख समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा आएको कमी नै हो । अर्थतन्त्रलाई दीगो बनाउन नयाँ लगानी बढाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । तर परिसंघले गरेको सर्वेक्षण अनुुसार नयाँ लगानी थपिनुको सट्टा ७० प्रतिशत लगानीकर्ताले बढ्दो ब्याजदर, नगद प्रवाहमा परेको असर, मागमा आएको उच्च कमीका कारण व्यवसायमा आकर्षण नदेख्दा नयाँ लगानीको योजना स्थगन गरेको पाइएको छ ।

यसले उद्योगी व्यवसायीहरुको मनोबलमा आएको निराशा दर्शाउने उसले जनाएको छ । यसैले उद्योगी व्यवसायीहरुको मनोबल एवं लगानी बढाउनुपर्ने आजको आवश्यकता रहेको भन्दै नभए अर्थतन्त्र मन्दीको दलदलमा फस्ने परिसंघले जनाएको छ ।

यस्ता समस्याहरुले अर्थतन्त्रमा २२ प्रतिशत योगदान रहेको, १७ लाख जनालाई रोजगारी दिईरहेको घरेलु तथा साना उद्योगहरु सबै भन्दा बढी प्रभावित भएका पनि परिसंघको तर्क छ । उनीहरु कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका उसले जनाएको छ ।

यस समस्याले त्यस क्षेत्रमा गएको ऋण नउठ्ने र बैंकको एनपीए समेत बढ्ने देखिएको भन्दै यस्ता कर्जाको बैंकको तजविजीमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकिरण र पुनर्कर्जाको सुविधा दिन परिसंघले माग गरेको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १४:०४