सर्वसाधारण भन्छन्ः महंगी तीन महिनामा बढेर १० प्रतिशत पुग्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सर्वसाधारण भन्छन्ः महंगी तीन महिनामा बढेर १० प्रतिशत पुग्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले अझै मूल्यवृद्धि बढ्ने बताएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण अनुसार अझै मुद्रास्फिति बढ्ने देखिएको हो ।

राष्ट्र बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म ५७ सहरका ६० बजार क्षेत्रका २ हजार ४० जनासँग अन्तर्वार्ता मार्फत् सर्वेक्षण गरेकोमा अधिकांशले अझै मूल्यवृद्धि बढ्न सक्ने जवाफ दिएका छन् ।

८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ ।

खाद्य वस्तुको सबै उपसमूहस, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूहस तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।

खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

यस्तै, तीन महिना पछिको मध्ये र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको सर्वेक्षणको निश्कर्ष छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार १५:५९