प्रदेश १ः कुन उद्योगको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रदेश १ः कुन उद्योगको अवस्था कस्तो ?



काठमाडौं । प्रदेश १ मा उद्योगहरुको उत्पादनमध्ये इँटाको उत्पादन सबैभन्दा बढी २०१८.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार आर्थिक वर्ष २०७८/७९ मा कोभिड –१९ का कारण रोकिएका निर्माणजन्य गतिविधि सुचारु भएसँगै इँटाको मागमा वृद्धि भएको हो ।

त्यस्तै सबै भन्दा बढी उत्पादन घट्नेमा गार्मेण्टको उत्पादन रहेको छ । यस अवधिमा गार्मेन्टबाट हुने उत्पादन ८९.९ प्रतिशतले घटेको छ । कोभिड–१९ को प्रभाव न्यूनीकरण भएसँगै भारतीय कामदार काममा फर्किन थालेका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको तथा बेस इफेक्टका कारण समेत अघिल्लो वर्षको तुलनामा उत्पादन उच्च भएको देखिएको छ ।

तयारी कपडा उद्योगले गतवर्ष उत्पादन गरेको मौज्दात नै बिक्री नभई बाँकी रहेकाले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा तयारी कपडाको उत्पादन घटेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कागजको उत्पादन ४७.५ प्रतिशत, चामलको उत्पादन ४३.८ प्रतिशत, भटमासको तेल ३६.७ प्रतिशत बढेको छ ।

त्यस्तै, चप्पलको उत्पादन ३२.२ प्रतिशत, जि.आइ.तारको उत्पादन २८.१ प्रतिशतले घटेको छ । यस अध्ययनमा समेटिएका चामल उद्योगहरुले भारतबाट धान आयात गरी जिरा मसिनो चामल उत्पादन गरेकाले चामलको उत्पादन बढेको पाइएको छ ।

वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरु पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएको तथा भारतीय बजारमा भटमासको तेलको माग अत्याधिक वृद्धि भएकोकारण भटमासको तेल उत्पादनमा वृद्धि भएको देखिन्छ ।

त्यसैगरी नेपाल सरकारले जि.आइ. तारको कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुलमा गरेको वृद्धि तथा भारत सरकारले पनि आफ्ना उद्योगहरुलाई कच्चा पदार्थ उपलव्ध गराउन फलाम तथा स्टिल विलेटको कच्चा पदार्थ निर्यातमा १५ प्रतिशत भन्सार महशुल लगाएका कारण लागत बढ्दा जि.आई तारको उत्पादन घटेको देखिन्छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार १५:२०