चार अर्ब ३१ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार अर्ब ३१ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको चार अर्ब ३१ करोड रुपैयाँ मुद्दती निक्षेपमा तीन सय ६६ दिनका लागि लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड रुपैंया मुद्दती निक्षेपमा राख्न लागेको हो ।

केन्द्रीय बैंकले सूचना जारी गरी क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ । जसमा ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४३ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४५ करोड ५६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड २० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको छ ।

त्यस्तै, अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकममा ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको छ।

बैंकले दुबै कोषको रकम आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी यही मंसिर २० गतेदेखि २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।

कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १३:५०