राजमार्गमा अत्याधुनिक सुविधासहितका पेट्रोल पम्प खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजमार्गमा अत्याधुनिक सुविधासहितका पेट्रोल पम्प खुल्दै



काठमाडौं, २३ पुस  ।  नेपाल आयल निगमले राजमार्गमा अत्याधुनिक सुविधा सहितको पेट्रोल पम्प खोल्ने तयारी गरेको छ ।

साधारण विक्रेतालाई खारेजगरी निगमले नयाँ आधुनिक पम्प खोल्ने तयारी गरेको हो ।  निगमले विक्रेता विनियमावलीलाई संशोधन गरेर नयाँ सुविधासम्पन्न आधुनिक पम्प खोल्ने तयारी गरेको बताइएको छ ।

निगमका प्रवक्ता भानुभक्त खनालले अन्तर्राष्ट्रियस्तरको आधुनिक पम्प खोल्नको लागि निजी क्षेत्रलाई आह्वान गरेको जानकारी दिए । अब राजमार्ग क्षेत्रमा ठूला र अत्याधुनिक पम्प खोल्न चाहनेले निगमबाट सजिलै स्वीकृति पाउनेछन् । निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । अब राजमार्ग क्षेत्रमा साना पम्पका लागि अनुमति नदिई ठूला पम्पलाई मात्र अनुमति दिइने तयारी गरिएको छ ।

आपूर्ति मन्त्रालयका उपसचिव कोमलबहादुर खत्रीले अब साधारण विक्रेतालाई खारेजगरी नयाँ आधुनिक पम्प स्थापना गर्ने तयारी गरिएको बताए । ‘नयाँ पम्प खोल्नका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्नेछ’, उनले भने, ‘अहिले मापदण्ड पूरा नगरी पम्प स्थापना भएकाले पनि त्यसलाई नियन्त्रण गर्न नयाँ आधुनिक सुविधा सम्पन्न पम्प स्थापना गर्न लागिएको छ ।’  सवारी साधनलाई यात्रा गर्न तेल हाल्न थप सहज हुनेगरी  सुविधा सम्पन्न आधुनिक पम्प खोल्न लागिएको उनको तर्क छ ।

मन्त्रालयका अनुसार ठूला पम्प खोल्नका लागि तराईमा एक विघा जमिन चाहिने हुन्छ । त्यस्तै पहाडी तथा हिमाली जिल्लामा पम्प खोल्न कम्तिमा  ५ रोपनी जग्गा चाहिन्छ । भित्रीमधेशका जिल्लाहरु उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, दाङ र सुर्खेतमा पनि जग्गाको मापदण्ड तोकिएको छ । पहाडी क्षेत्रमा ५ रोपनीभन्दा कम जग्गा राखिएका नयाँ पेट्रोल पम्पलाई अब सञ्चालन अनुमति नदिइने उपसचिव खत्रीले बताए । पम्पभित्र महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुनुपर्ने व्यवस्था गरिएको छ ।  अत्याधुनिक पम्ममा एक पटकमा ८ गाडीले तेल भर्नसक्ने, २० गाडी पार्किङ्गको सुविधा, एटिएम सुविधा, रेष्टुरेन्टलगायतका अन्य सेवा सुविधा हुनुपर्ने व्यवस्था छ । त्यस्तै पम्पमा आकस्मिक अवस्थामा सोलार बिजुलीको व्यवस्था पनि हुनुपर्नेछ ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०८:५१