मनासलुको अध्यक्षमा पुनः पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मनासलुको अध्यक्षमा पुनः पौडेल



 काठमाडौ २६पुस । रक्षामन्त्री बालकृष्ण खाँडले सहकारी बचत तथा ऋणमा मात्रै सीमित नभइ उत्पादन र उपभोक्तालाई गुणस्तरीय वस्तु वितरणमा लाग्नु पर्ने बताएका छन् । मनासलु बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खाँडले सो कुुरा बताएका हुन् । ग्रामीण सामन्ती शोषणको अन्त्य गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले राज्य र बैंकिङ क्षेत्र नपुगेको ठाउँमा समेत सहकारीले सेवा दिनु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

महिला सशक्तिकरण, रोजगारी सिर्जना र गरिबी घटाउने काममा सहकारी लाग्नुपर्नेमा उनको जोड थियो । प्रस्तावित सहकारी ऐन २०७३ का विषयमा अभियानको फरक मत रहेकाले अभियानको भावनालाई समेटी सहकारीमैत्री ऐन ल्याउन आफूले पनि पहल गर्ने उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष एवं सांसद ओमदेवी मल्लले सहकारीमैत्री ऐन ल्याउन आफूहरु निरन्तर लागिपरेको बताईन् । सभामा जिल्ला सहकारी संघ र जिल्लाका विषयगत संघका प्रतिनिधिहरुले सहकारीमार्फत मुलुकको हरेक क्षेत्रमा परिवर्तन ल्याउन सकिने भएकाले सहकारीलाई अब आउने ऐनले अंकुश लगाउन नहुने औंल्याएका थिए । सभामा संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले आव २०७२÷७३ को वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । संस्थाले सदस्यहरुलाई लक्षित गरी विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

सभाले राजेन्द्र पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत निर्वाचित गरेको छ । उपाध्यक्षमा दिपराम महर्जन, सचिवमा अर्चना अमात्य, कोषाध्यक्षमा मीना ताम्राकार र सदस्यहरुमा राजेशकुमार महर्जन, सानुछोरी महर्जन, रिता गजुरेल, अक्कलदास महर्जन र दुर्गामान महर्जन रहेका छन् । संस्थाको लेखासमिति संयोजकमा जीवन महर्जन र सदस्यहरुमा अरुणा अमात्य र तेजबहादुर पौडेल चयन भएका छन् । सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, संस्थापक सदस्य र विशिष्ट श्रेणीमा उतीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । संस्थाको चालु आवको मंसीर मसान्तसम्म ४ करोड २० लाख शेयरपूँजी, ३४ करोड बचत संकलन र ३१ करोड कर्जा लगानी रहेको छ । सभाले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत संरक्षित पूँजीकोषबाट बितरण गर्ने निर्णय समेत पारित गरको छ ।

प्रकाशित : २६ पुष २०७३, मंगलवार ०४:४४