तीन खम्बे अर्थतन्त्र बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ: राष्ट्रिय सभा अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तीन खम्बे अर्थतन्त्र बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ: राष्ट्रिय सभा अध्यक्ष



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताएका छन् । उनले सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने बताए । सहकारी मूल्य शृखला प्रभावकारी रुपमा उत्रिएको खण्डमा विचौलियाको अन्त्य हुने बताए ।

राष्ट्रिय सहकारी महासंघको ३० औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राज्यले सहकारीलाई उचित सम्बोधन गर्नुपर्ने बताए । ‘तीन खम्बे अर्थतन्त्र भन्ने र एउटा खम्बालाई चल्लाको खुट्टा जस्तो अर्काे खम्बालाई हात्तीको खुट्टा जस्तो बनाएर अर्थतन्त्र मजबुद हुँदैन ।’ उनले भने,‘तीनवटै खम्बा बलियो बनाउने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ ।

साथै, यसलाई बजेटमा समावेश गर्न पनि कन्चुस्याई गर्नुहुँदैन ।’ गरिनी निवारणका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले गरिवीको न्यूनिकरणका लागि सहकारीसँग सहकार्य गर्न सक्ने औल्याए । उनले सहकारीमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्व तहमा त्यसको प्रभाव नदिएकाले नेतृत्वमा महिलाको सहभागिता बृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।

उनले कुनै समय आफू पनि सहकारीको सदस्य रहेको स्मरण गर्दै सहकारी मैत्री कानुन निर्माणका लागि आफ्नो स्थानबाट हुने सहयोग गर्न आफू तत्पर भएको उनले प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले संविधानमा तीन खम्बे अर्थतन्त्र भनेर उल्लेख गरिसकेपछि यसलाई कार्यान्वयन गर्न सबै दलले इमान्दारीता देखाउनुपर्ने औल्याए ।

कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताउँदै राज्यसँग हालेमालो गरेर अभियान अगाडि बढ्ने बताए । पूर्व राज्यमन्त्री तथा महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजीसरह सहकारीलाई समान अवसर दिएको र विश्वका विभिन्न देशले अनुशरण गर्न थालेको बताए ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताएका छन् । ‘सहकारी अभियानलाई भरोसायोग्य क्षेत्रका रुपमा रुपान्तरण गर्न हामी सबै लागि पछौं । जोखिम न्युनिकरण गर्दै जानुपर्ने छ ।’ उनले भने । उनले सम्पत्ति शुद्धिकरण निवारणमा सहकारी अभियानले प्रतिबद्धता व्यक्त गर्ने विश्वास समेत व्यक्त गरे ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘सहकारीको सुदृढिकरणका लागि केन्द्रीय संघहरुबाट विभागले काम थाल्ने छ ।’

उनले अभियानको सरकारको परनिर्भरता घटाउँनका लागि महासंघले वैज्ञानिक शुल्क निर्धारण गरेकोमा स्वागत गरेका छन् । यसैगरी, महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान गर्ने बताए । वर्तमान अवस्थामा सहकारीलाई तरलता व्यवस्थापनमा राज्यलाई सहयोग गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष रमेश पोखरेलले विकासवादी अर्थतन्त्रको रुपमा सहकारी अभियान रहेको पनि बताए ।

साधारण सभामा महासंघका अध्यक्ष मिनराज कडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आ.व. २०७९/०८० को बार्षिक कार्यक्रम तथा बजेट पास गर्नुका साथै सभामा निस्कृय सदस्य संघहरुको खारेजीको विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १५:२४