‘डिजिटल बैंकिङ’ प्रयोगकर्ता बढ्दै, एक बर्षमा ८५ लाख ७० हजार बढी थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘डिजिटल बैंकिङ’ प्रयोगकर्ता बढ्दै, एक बर्षमा ८५ लाख ७० हजार बढी थपिए



काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । कोभिड–१९ अघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार हाल दिनानुदिन आक्रामक रुपमा बढ्न थालेको हो । सरकार र बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेका बेला यसतर्फ सर्वसाधारणको आकर्षण समेत बढिरहेको देखिएको छ ।

प्रविधिको विकास र यसमा सर्वसाधारणको पहुँच बढ्दै गएकाले डिजिटल बैंकिङ सेवातर्फ सर्वसाधारण आकर्षित देखिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार एटीएम कार्डदेखि पछिल्लो समयमा वालेट पेमन्टजस्ता बैंकिङ सेवा प्रयोगकर्ताको संख्या बढिरहेको छ ।

नेपालमा पछिल्लो एक बर्षमा मोवाईल बैकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। तथ्याङ्क अनुसार गत बर्षको मंसिरदेखि चालु आवको मंसिरसम्ममा ८५ लाख ७० हजार ७४७ जना मोवाईल बैकिङ प्रयोगकर्ता बढेको देखिएको छ । यो संख्या गत बर्षको मंसिरमा एक करोड ३० लाख ६४ हजार ६८४ जना प्रयोगकर्ता रहेका थिए भने चालु आवको मंसिसम्ममा आइपुग्दा बढेर २ करोड १६ लाख ३५ हजार ४३१ जना पुगेका छन्।

मोवाईल बैकिङ प्रयोगकर्ताको संख्या बढेसंगै वालेट प्रयोगकर्ताको संख्यामा पनि बृद्धि भएको छ । गत मंसिर महिनामा वालेट प्रयोगकर्ताको संख्या एक करोड ३० लाख ८८ हजार ५४३ जना रहेकाे थियाे। यही प्रयोगकर्ता एक बर्षमा बढेर चालु आवको मंसिरसम्म आइपुग्दा एक करोड ६८ लाख ९२ हजार ९२५ जना पुगेका छन्। जुन एक बर्षको तुलनामा ३८ लाख ४ हजार ३८२ जनाले बढेको देखिन्छ।

त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक बर्षको अवधिमा नै २१ लाख ५९ हजार ४६६ जनाले बढेको हो । गत मंसिर महिनामा डेबिट कार्ड प्रयोगकर्ता ७७ लाख ५२ हजार ७८४ जना रहेकोमा उक्त संख्या बढेर चालु आवको मंसिर महिनासम्म ९९ लाख १२ हजार २५० पुगेको हो।

यसका साथै इन्टरनेट बैंकिङ्क प्रयोगकर्ता पनि एक बर्षमा १० हजार २३७ जनाले बढेका छन् भने कनेक्ट आईपीएसको प्रयोगकर्ता पनि ९ लाख ३२ हजारले बढेको तथ्यांकले देखाएको छ।

त्यस्तै, आइपिएस प्रयोगकर्ता पनि बढेका छन् । गत मंसिर महिनासम्म आइपिएस प्रयोगकर्ता बढेर १६ लाख ४७ हजार ८२४ जना पुगेको छन् । तर, यस अबधिसम्म आइपुग्दा इसीसी प्रयोगकर्ता भने घटेका छन् । गत बर्षको मंसिरदेखि चालु आवको मंसिरसम्म आइपुग्दा २ लाख १६ हजार ३३२ जना प्रयोगकर्ता बाहिरिएका छन् । गत बर्ष मंसिरमा इसीसी प्रयोगकर्ता ११ लाख २८ हजार ४११ जना रहेकोमा चालु आवको मंसिरसम्ममा आइपुग्दा ९ लाख १२ हजारमा झरेको छ ।

प्रकाशित : ५ माघ २०७९, बिहीबार १५:१२