रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहित गर्ने नीति बनाउन चेम्बरको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहित गर्ने नीति बनाउन चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादनमुलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग आग्रह गरेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादन मुलक क्षेत्रमा प्रभावकारी नीति सहित युवाहरुको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले मन्त्री भण्डारी समक्ष सिंहदरवारमा सोमबार औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडी बढाउन आग्रह गर्दै १२ बुँदे सुझाव समेत पेश गरेको छ ।

मन्त्री भण्डारी समक्ष अध्यक्ष मल्लले भने, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरुले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ, ।’ वार्षिक १० खर्व भन्दा बढी रेमिट्यान्स मुलुक भित्रिदा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताए ।

औद्योगिक प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात गृहको अवधारणा ल्याउन समेत मन्त्री भण्डारी समक्ष चेम्बरले आग्रह गरेको छ । यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

प्रकाशित : ९ माघ २०७९, सोमबार १८:१०