लेखा समितिले भन्यो- तीन महिनाभित्र एनसेलबाट कर असुल्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लेखा समितिले भन्यो- तीन महिनाभित्र एनसेलबाट कर असुल्नु



काठमाडौँ २ माघ । संसदको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र असुल उपर गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले गत वर्ष एनसेलको मुख्य सेयरहोल्डर रेनोल्ड होल्डिङ्सको सेयर बिक्री बापत भएको लाभकर निर्धारण गरि असुल गर्न निर्देशन दिएको हो । ‘एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आयकर ऐन–२०५८ को प्रावधान बमोजिम निर्धारण गरी आगामी ३ महिनाभित्र असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ ।

समितिले मन्त्रालयलाई कर निर्धारणका सम्बन्धमा भएका कामकारबाहीको जानकारी समितिलाई प्रत्येक महिना उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिको बैठकले एनसेलको सेयर बिक्रीमा लाग्ने करको विषय अन्तर्राष्ट्रिय करको सन्दर्भ रहेकाले अर्थ मन्त्रालयको संयन्त्रको जिम्मेवारीका रुपमा लिई कर निर्धारण गर्नुपर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणी शर्माले करको विषयमा कर अधिकृतको भएको बताएपछि बैठकले अर्थ मन्त्रालयलाई सामूहिक जिम्मेवारी र जवाफदेहिताभित्र रहेर कर निर्धारण गर्न निर्देशन दिएको हो ।

बैठकले गत जेठ १६ गते समितिले कर असुल नगर्ने निकाय र त्यसमा सम्लग्न अधिकारीलाई अनुसन्धान र छानविन गरी तीन महिनाभित्र प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएकोमा हालसम्म जानकारी प्राप्त नभएको तत्कालै जानकारी दिनका लागि फेरि अख्तियारलाई पत्र पठाउने निर्णय समेत गरेको छ ।

प्रकाशित : २ माघ २०७३, आईतवार १०:३४