व्यावसायिक क्षेत्रमा विद्यमान प्रतिकूल परिस्थितिको अन्त्य गर्न उधारो असुली कानुन आवश्यक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

व्यावसायिक क्षेत्रमा विद्यमान प्रतिकूल परिस्थितिको अन्त्य गर्न उधारो असुली कानुन आवश्यक



काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन आग्रह गरेको छ ।

संघले पछिल्लो समय उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने, उधारो असुली कानुनको अभावमा बक्यौता नतिर्नेविरुद्ध कानुनी उपचार खोज्न पनि नसकेको, बैंकहरुको साँवाब्याज भुक्तानी गर्न नसकेर इमानदारी र प्रतिष्ठा जोगाउन नसकेको जस्ता कारण देखाउँदै व्यापारी व्यवसायीले आत्महत्या गरेका समाचारहरु बाक्लै रुपमा आउन थालेकोप्रति सरोकारवालाहरुको ध्यानकर्षण समेत गराएको छ।

काठमाडौंको वानेश्वरस्थित संसद् भवनअगाडि एकजना व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहको घटनामा पनि उधारोमा बिक्री गरेको सामानको रकम असुली नहुनु प्रमुख कारणको रुपमा देखिएको संघको बुझाई छ । उक्त दुखद घटनाले यो संघलगायत निजी क्षेत्रले लामो समयदेखि आवाज उठाउँदै आएको उधारो असुली कानुन कति आवश्यक छ भन्ने कुरालाई अझ प्रस्ट रुपमा उजागर गरेको संघको भनाई छ ।

आचार्यको आत्मदाह लगायत अन्य व्यवसायीले गरेका आत्महत्याका घटनाले कोरोना महामारी र रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमै ल्याएको प्रतिकूल अवस्थाबाट मुलुकका उद्यमी व्यवसायी अभूतपूर्व तनावमा रहेको पनि प्रस्ट पारेको छ ।आर्थिक कारोबारमा आएको कमीबाट उद्यमी व्यवसायी मात्र नभएर सरकार स्वयं पनि लक्षित राजस्व संकलनमा चुकेको अवस्था छ । यी सम्पूर्ण कुरालाई बेलैमा सम्बोधन गर्न नसके स्थिति अझ भयावह हुने निश्चित छ । अतः उपयुक्त नीतिगत र कार्यगत हस्तक्षेपमार्फत आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन यो संघ सरोकारवाला सबै निकाय र जिम्मेवार अधिकारीहरुमा आग्रह गरेको छ।

अहिलेको प्रतिकूलताको अन्त्यका लागि आर्थिक मुद्दामा मुलुकका राजनीतिक दलहरु, उद्यमी व्यवसायी, राष्ट्र«सेवक कर्मचारीलगायत सबै सरोकारवाला पक्ष एकमत भई अघि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै राजनीतिक विचार र दर्शनलाई आफ्नो ठाउँमा राखेर आर्थिक मुद्दामा राष्ट्रि« सहमति कायम गर्न पनि यो संघ सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

यतिबेला कर्मचारीतन्त्रले पनि उद्यमी व्यवसायीको मनोबल बढ्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्ने र निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्ने अवस्था रहेको जनाउँदै यसतर्फ संवेदनशील भएर सोच्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार १६:०८