अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउन आवश्यक छ: अर्थमन्त्री पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउन आवश्यक छ: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्रमा देखिएका समस्यालाई खर्च कटौतिको निर्णयले मात्रै पर्याप्त नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफु लागि परेको बताएका हुन् ।

आर्थिक नीति परिमार्जन गर्ने बेला भएको बताउदै उनले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउन आवश्यक रहेको बताए । आफुले आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका समस्याहरुको चुनौतिलाई बिस्तारै कम गर्दै लैजाने पनि जनाएका छन् ।

त्यसैगरी राष्ट्र बैंकका नीतिको कारण समस्या देखिएको गुनासो निजि क्षेत्रले गरेकोले ति समस्या टेबलमा बसेर छलफलबाट समाधान गर्न सकिने बताए । उनले राष्ट्र बैंकले लिएको ४/१२ को नीति, एलसी खोल्दा नगद मार्जिनको नीति, आयातमा गरिएका नीति, चालु पुँजी मार्गदर्शनका नीति लगायत अन्य सबै विषयमा छलफल बाट समाधान खोज्न सकिने बताएका हुन् । उनले भने ‘समस्याबारे एउटै टेबलमा बसेर छलफल गरौ, छलफल गर्दा समाधान खोज्न सक्छौ।’

उनले सबै पक्षले समस्याहरुलाई समान ढंगले अनुभूति गर्नुपर्ने बताए । उनले समस्यालाई त्यस्तै छोड्दा समस्या झन् विकराल बन्न सक्ने भएकोले त्यस्तो अवस्था नआओस् भन्नेबारे सरकार गम्भीर रहेको बताए । सोहि कारण उनले समस्याबारे सँगै बसेर छलफलको लागि जोड दिएका हुन् ।

अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको उनको भनाइ थियो । उनले सरकार बजेट निर्माणको पूर्व तयारीमा जुटिसकेकोले अब बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । त्यस्तै उनले बजेट मार्फत करको दर हेरफेर गर्ने नभई करको दायरा विस्तार गर्नेमा सरकारको जोड हुने बताए ।

प्रकाशित : १८ माघ २०७९, बुधबार २२:१२