नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता, हाइड्रोपावरमा लगानी गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता, हाइड्रोपावरमा लगानी गर्न आग्रह



युएई, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । आज अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए ।

वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रोपावर विकासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरे ।  त्यहाँका ऊर्जामन्त्री मजौरीले नेपालमा हाइड्रोपावरमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको भन्दै त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्न सकिने बताए ।

करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले हाइड्रोपावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफूहरु इच्छुक रहेको जानकारी दिए । उनले दिगो ऊर्जा विकासका लागि हाइड्रोपावर र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिएका छन् । अबुधावीमा जारी वल्र्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माले भाग लिएका छन् । समिटमा पेट्रोलियम र  हाईड्रो ऊर्जालाई क्रमशः सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष्य कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् । यसैबीच ऊर्जामन्त्री जनार्दन शर्मा अबुधावीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलले आयोजना गरेका  विभिन्न कार्यक्रमहरुमा सरिक भएको स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिए ।

प्रकाशित : ३ माघ २०७३, सोमबार १२:०९