६ महिनामा निर्जीवन बीमा कम्पनीकाे बीमा व्यवसाय २० अर्बले बढ्दा, नेशनल इन्स्योरेन्सकाे भने खस्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

६ महिनामा निर्जीवन बीमा कम्पनीकाे बीमा व्यवसाय २० अर्बले बढ्दा, नेशनल इन्स्योरेन्सकाे भने खस्कियो



काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २० अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणाको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुले यस अवधिमा १३ लाख ९५ हजार ३२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.१५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ लाख ४७ हजार ७६८ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कुल बीमाशुल्क आर्जनमा शिखर पछि नेको इन्स्योरेन्स रहेको छ । नेकोले यस अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै हिमालयन एभरेष्टले १ अर्ब ५० करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ र सानिमा जिआईसीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनैपनि कम्पनीको बीमाशुल्क एक अर्ब माथि पुग्न सकेको छैन् ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४९ करोड ४० लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।

कुन प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय मध्ये दुई तिहाईभन्दा बढी व्यवसाय बागमती प्रदेशको रहेको छ । चालु आव भएको निर्जीवन व्यवसायमध्ये बागमती प्रदेशमात्रै ६६.७० प्रतिशत ( १३ अर्ब ३९ करोड ६३ लाख) व्यवसाय भएको छ ।

बढी बीमा व्यवसाय हुने प्रदेशमध्ये दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशको बीमा व्यवसाय भने १ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यसरी नै प्रदेश १ ले १ अर्ब ७२ करोड, मधेश प्रदेशले १ अर्ब २५ करोड, गण्डकी प्रदेशले १ अर्ब १४ करोड र कर्णाली प्रदेश र सुदूरपश्चिमको निर्जीवन व्यवसायभ ने करोडमा सीमित रहेको छ ।

सुदूरपश्चिम चालु आवको पहिलो ६ महिनामा ५२ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ भने कर्णाली प्रदेशमा १८ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १३:०८