मोटर बीमा गर्नेहरुको संख्या बढ्दा, सबैभन्दा कम बीमा शुल्क संकलन कर्णाली प्रदेशमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

मोटर बीमा गर्नेहरुको संख्या बढ्दा, सबैभन्दा कम बीमा शुल्क संकलन कर्णाली प्रदेशमा



काठमाडौं । पछिल्लो समय मोटर बीमा गर्नेहरुको संख्या बढेको छ । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार निर्जिबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा मोटर बीमा मार्फत ६ अर्ब ५५ करोड १७ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

गत बर्षको यसै अवधिको तुलनामा उक्त शुल्क ३५१.३३ प्रतिशतले बढेको हो। गत बर्ष मोटर बीमाबाट १ अर्ब ४५ करोड १६ लाख २० हजार रुपैंया आर्जन गरेका थिए । यस अवधिसम्म आइपुग्दा कम्पनीहरुले कुल ८ लाख ८४ हजार १२१ वटा मोटर बीमालेख बिक्री गरेका छन् ।


प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा चालु आवको ६ महिनामा मोटर बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क बागमती प्रदेशबाट संकलन भएको छ । पुस मसान्तसम्ममा बागमतीबाट सो व्यवसाय मार्फत ३ अर्ब ५३ करोड ६६ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा अन्तर्गत ४ लाख १६ हजार २८८ वटा बीमालेख बिक्री गरेका हुन् ।

दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने ९० करोड ८८ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । मोटर बीमाका लागि लुम्बिनी प्रदेशमा कम्पनीहरुले १ लाख ३६ हजार १४१ बीमालेख बिक्री गरेका छन् ।

सो अवधिमा सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । सो प्रदेशबाट मोटर बीमा मार्फत ९ करोड ८ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क उठेको हो । सो प्रदेशमा मोटर बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल १२ हजार ५६३ वटा बीमालेख बिक्री गरेका छन् ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १७:१९