यस्ता छन् अर्थमन्त्रीका १२ शिर्षकका योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्ता छन् अर्थमन्त्रीका १२ शिर्षकका योजना



काठमाडौँ ५ माघ । अर्थमन्त्रालयले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको सो कार्ययोजना   अर्थमन्त्री कृष्ण बहादुर महराको निर्देशनमा तयार गरिएको हो । ‘सम्वृद्ध नेपालको आधार सम्वृद्ध गाँउ/नगर, सम्वृद्ध गाँउ/नगरको आधार सम्वृद्ध समाज’ भन्ने मुल नारा सहितको कार्ययोजनामा १२ शीर्षक र ६३ वटा उप-शीर्षक छन् ।

‘मेरो श्रम मेरो विप्रेषण, मेरो देश निर्माण’मा भन्ने नारा अन्तरगत अर्थमन्त्रालयले विप्रेषणबाट प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने उल्लेख छ । यस अन्तर्गत बैंकिङ प्रणालीबाट विप्रेषण पठाउने बैदेशिक रोजगारमा गएकाहरुलाई सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने भएको छ । हुण्डि नियन्त्रणको अस्त्रको रुपमा सरकारले यसलाई प्रयोग गर्ने भएको हो ।

सरकारले कोरियाबाट अधिक हुण्डीमा कारोबार भएकोमा ध्यानाकर्षण भएको बताउँदै त्यहाँकै सरकारसँग छलफल चलिरहेको तर केही काम बाँकी रहेको उल्लेख गरेको छ ।

‘एक स्थानीय सरकार एक एकीकृत व्यवसाय’ नारा दिइएको कार्यक्रम सरकारी, निजी र सहकारीको सहयोगमा लागु गरिने उल्लेख छ ।

‘एक सहकारी मुख्य चिनारी’ नारा दिइ सहकारीलाई दिगो आर्थिक बिकासको मुख्य खम्बा मानेको सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न आर्थिक अनुदान र कर्जा प्रवाहमा बिशेष प्राथमिकता दिने उल्लेख गरेको छ ।

‘एक इलाका एक व्यवसाय’ र ‘एक परिवार एक रोजगार’को नारा अन्तर्गत यस कार्यक्रममा सरलीकृत गरी आयोजना, शैक्षिक प्रमाणपत्र वा सामुहिक जमानीमा शीघ्र ऋण उपलब्ध गराइनेछ । चालु वर्षमा यसको लागि बनाइने कोषबाट थप ५० हजार स्वरोजगार सृजना गर्ने लक्ष्य राखिएको छ ।

एक बैंक एक खाताको नारा बजेटमा नै उल्लेख थियो । अर्थमन्त्रालयले पनि यो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष भित्रमा कम्तिमा ७० प्रतिशतको खाता खोलिने लक्ष्य पेश गरेको छ ।

अर्थमन्त्री महराले हालै मात्र यस विषयमा बैंकहरुसँग छलफल गरेको समेत जानकारी दिएका छन् । यद्यपी उनी आफैं यो लक्ष्य अहिले नै पूरा हुनेमा शंका व्यक्त गर्छन् ।

उनले भने, ‘यो अनिवार्य नगरेपनि १० वर्षमा त पूरा हुन्छ नै अहिले लक्ष्य लिनुको उद्देश्य यो दिशातर्फ उन्मुख होऊ भन्ने हो ।’ उनले कतिपय काम गर्न चुनौती पूर्ण रहेकोले पनि लक्ष्य राखेरै भएपनि केही न केही काम शुरुवात गर्न यसो गरिएको स्पष्ट पारे । अर्थमन्त्रालयसँग हालै भएको बैंकहरुको छलफलमा ग्रामिण क्षेत्रमा शाखा बिस्तारमा बैंकहरुले १५/२० शाखा बिस्तार गर्न सर्कुलर गरेको जानकारी दिएको बताइएको छ ।

समृद्ध नेपालको आधार समृद्ध गाउँ/नगर,समृद्ध गाउँ नगरको आधार समृद्ध समाज भन्ने नाराका साथ अर्थमन्त्रालयले समृद्ध नेपालको लागि दिगो विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ सार्वजनिक गरेको हो । कार्ययोजना समग्र आर्थिक विकासका लागि केन्द्रित हुने अर्थमन्त्री कृष्ण बहादुर महराले जनाएका छन् ।  सो योजना कार्यान्वयनबाट समष्टिगत आर्थिक स्थायित्व कायम हुने ,उच्च दिगो आर्थिक बृद्धिदर हासिल अर्थमन्त्री  महराको विश्वास  छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार १२:०७