विद्यार्थी नेताहरु भन्छन्– २८ बर्षे उमेरहद कायम गरेरै निर्वाचन सफल बनाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विद्यार्थी नेताहरु भन्छन्– २८ बर्षे उमेरहद कायम गरेरै निर्वाचन सफल बनाउ



काठमाडौं  ९ माघ । आगामी फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्बाचनमा उमेर हदबन्दी कायम गरेरै अघि बढ्नु पर्ने आज राजधानीमा आयोजित कार्यक्रका नेताहरुले बताएका छन् । डिबेटिङ क्लबले आइतबार आयोजना गरेको ‘आजको विद्यार्थी आन्दोलन र शैक्षिक रुपान्तरणका चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै विभिन्न संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालय सिनेटद्धारा घोषित २८ बर्षको उमेरहदलाई कायम गरेरै निर्बाचन सफल बनाउन आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिले मुलुकको राष्ट्रियता र सार्बभौमीकता खतरामा रहेको साथै लोकतान्त्रिक उपलब्धी गुम्ने अवस्थामा रहेको हुँदा यसको जगेर्ना गर्नुपर्ने बताए । उनले भने–‘अहिले विद्यार्थी राजनीतिमा पनि परिमार्जन आवश्यक रहेकाले समय सापेक्ष विद्यार्थीको नेता विद्यार्थी नै भन्ने अवधारणाका साथ उमेर हदबन्दी आवश्यक छ ।’ त्यस्तै अनेरास्ववियूका पूर्व अध्यक्ष खिमलाल भट्टराईले बलियो र सक्षम विद्यार्थी आन्दोलनका लागि उमेर हदबन्दी उचित रहेको बताए । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफूले एकदशक अघि देखिनै विद्यार्थी राजनीतिमा उमेर हदबन्दी कायम गरिनुपर्ने धारणा राख्दै आएको स्मरण गरे । उनले भने–‘ उमेर नाघेका साथीहरुलाई हामी तरुण दलमा जिम्मेवारी दिन तयार छौं ।’ नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी राजनीतिको चुरोकुरो भनेको शैक्षिक उन्नयन र समाज रुपान्तरण रहेको बताए । उनले विधी र व्यवस्थामा सुधार गर्दै विद्यार्थी राजनीतिलाई परिमार्जित र परिस्कृत गर्दै अघि बढ्नुपर्ने औंल्याए ।

महामन्त्री काफ्लेले भने–‘त्रिवि सिनेटले गरेको निर्णयको स्वागत गर्दछु र निर्बाचनमा होमिन सबैमा आब्हन गर्दछु ।’ नेवि संघका उपसभापति डिल्लीराम सुवेदीले विद्यार्थी राजनीतिले आफ्नो सान्दर्भिकता पुष्टी गर्न निती, संगठन र नेतृत्व तीनवटै आयाममा रुपान्तरीत गर्नुपर्ने आवश्यक्त औंलाए । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले परिवर्तित सन्दर्भमा विद्यार्थीको नेतृत्व विद्यार्थीमै रहनुपर्ने ध्येयका साथ आएको उमेर हदबन्दीको कुरा उचित रहेको बताइन् । कार्यक्रममा नेवि संघका केन्द्रीय सदस्य गीता गुरुङ, रत्नहरी ढुंगेल र त्रिवि नेवि संघका नेता शंकर पौडेलले आफ्नो धारणा राखेका थिए । कार्यक्रमका संयोजक तथा नेवि संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले उमेर हदबन्दीको कुराले विद्यार्थी राजनीतिभित्र रहेको बिकृती र विसंगतीको अन्त्य गर्ने धारणा राखे । उनले बर्तमान विद्यार्थी पुस्ताको क्षमतामा विश्वास राख्न अनुरोध गरे । कार्यक्रमको सहजीकरण दिवाकर अर्यालले गरेका हुन् ।

प्रकाशित : ९ माघ २०७३, आईतवार ११:३६