हिमालय एयरलाइन्सको दोस्रो एयरबस आइपुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय एयरलाइन्सको दोस्रो एयरबस आइपुग्यो



काठमाडौं १९ माघ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित निजी क्षेत्रको विमान सेवा हिमालय एअरलाइन्सले आफनो दोस्रो नयाँ विमान ए ३२० मंगलबार काठमाडौं ल्याइपुर्याएको छ । उक्त विमान बिहान करिव ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जर्मनीको हैम्बर्गबाट उडान गरेको ९एन–एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको थियो । कार्यक्रममा सस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनबहादुर शाही, नेपाल नागरीक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक देवेन्द्र उपाध्याय, एयरलाइन्सका उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठ, उपाध्यक्ष–अपरेशन कप्तान जतिनदर पालसिहंलगायत पनि पुगेका थिए ।

उपाध्यक्ष श्रेष्ठले दोस्रो एअरवस आगमनसँगै यस हिमालय एअरलाइन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागि अत्याधिक मेहनतका साथ प्रस्तुत हुने बताए । उनले यसले नेपाललाई नयाँ गन्तव्यसँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्नेछ । स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एअरलाइन्स् तथा देशकै पर्यटन एवं हवाई उद्योगमा कोषे ढुङ्गा सवितभएको श्रेष्ठको भनाई थियो ।

कुल १५८ सिट क्षमताको नयाँ बिमानमा आठ सिट विजनेश क्लास र बाँकी इकोनोमी क्लास रहेका छन् । दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउन आफूहरु प्रतिवद्ध रहेको हिमालय एयरलाइन्सको भनाई छ ।

हिमालय एयरलाइन्सले एअरबससँग लामो समयसम्मको लागि उक्त जहाज ड्राइलिजमा लिन लागिको हो । थपिएको विमानले चाँडै थप दुई नयाँ गन्तब्यहरुमा उडान सुरु गर्ने जनाइएको छ । जसअनुसार मलेसियाको क्वाललाम्पुरमा माघ २८ गतेदेखि म्यानमारको याङगुनमा फागुन १३ गतेदेखि उडान सञ्चालन गर्न लागेको हो ।

हिमालय एअरलाइन्सले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न सफल भएको हो भने २०१७ सालभित्र थप दुई विमान थप्ने योजना बनाएको छ ।

नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने जनाइएको छ । योजनाकाअनुसार एअरलाइन्स्ले हप्ताको पाँच दिन क्वालालम्पुर, र हप्ताको दुई दिन याङगुनमा उडान सञ्चालन गर्नेछ ।

हिमालय एअरलाइन्स्ले कार्निभल ट्राभल एसडिएन विएचडी र माइ गोल्डेन लायन एभियशन प्रालिलाई क्रमशः मलेशिया र म्यानमारको जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । यिनीहरुले बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

एअरलाइन्सले काठमाडौं-क्वालालम्पूर-काठमाडौंको लागि सुरुवाती टिकट दर २५ हजार ३७५ रुपियाँ (राउण्ड ट्रिप) र क्वालालम्पूर-काठमाडौं-क्वालालम्पुरको लागि मलेसियन रिंगेट ९२८ (राउण्ड ट्रिप) कायम गरेको छ ।  त्यसैगरी काठमाडौं-याङगुन-काठमाडौंको लागि २९ हजार छसय रुपियाँ र याङगुन-काठमाडौं-याङगुनको लागि अमेरिकी डलर ३२० (राउण्ड ट्रिप) कायम गरिएको छ । यो टिकटदरमा सरकारी कर लागु हुने जनाइएको छ ।

दोहा र कोलोम्बोसँगै क्वालालम्पुर र याङगुन जोडिएपछि एअरलाइन्स्ले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्ने जनाएको छ ।  हिमालय एअरलाइन्स गएको अगष्ट २०१४ मा स्थापित भई २०७३ को जेठबाट कतारको दोहा र  सन् २०१६ को अक्टोबर १ देखि श्रीलंकाको कोलम्बो उडान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार १२:०४