किसानलाई आत्मनिर्भर बनाउन पूर्वाञ्चलमा व्यावसायिक अभियान सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसानलाई आत्मनिर्भर बनाउन पूर्वाञ्चलमा व्यावसायिक अभियान सञ्चालन



विराटनगर, २५ माघ । कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।

पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित १५ वटा संयुक्त आयोजना र ४४ वटा उप आयोजना सञ्चालनमा छन् । ती मध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक– एकवटा आयोजना सञ्चालनमा रहेका कृषि तथा व्यापार आयोजना कार्यालय विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताए ।

ती कार्यक्रमका माध्यमबाट किसानबीच रु १८ करोड ६८ लाख ७२ हजार विश्व बैङ्कको अनुदान रकम वितरण गरिएको छ । कूल रु ४९ करोड ९१ लाख ३९ हजार लागतमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारीमार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको छ ।

आयोजना सञ्चालकले पेस गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि रु ९९ लाखसम्म अनुदान उपलब्ध गराइएको छ । निजीस्तरमा र सहकारीमार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नीतिअनुरुप अधिकांशलाई दुई किस्ता उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

विसं २०७३ जेठ महिनादेखि प्रक्रिया सुरु भएको उक्त कार्यक्रममार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मङ्सिरमा सम्झौंता भई कार्य दू्रतगतिमा भइरहेको छ । सो आयोजनाको अवधि एक वर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा योजना सम्पन्न हुनेछ ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ११:१०