बैंकहरूको नाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंकहरूको नाफा बढ्यो



काठमाडौं, २६  माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुलुकका १७ वाणिज्य बैंकले १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आव ९०७२/७३० को दोस्रो त्रैमासको तुलनामा ५६.१८ प्रतिशतले बढी हो ।

मंगलबारसम्ममा १७ वाणिज्य बैंकहरूले पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्रैमास समाप्त भएको एक महिनाभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्छ । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् ।

हालसम्म विवरण प्रकाशित गर्ने १७ मध्ये अधिकांशले गत आवको सोही अवधिको तुलनामा नाफा बढाएका छन् । गत आवमा यी बैंकहरूको खुद नाफा ८ अर्ब ७० करोड ५५ लाख रुपैयाँ रहेको खबर आजको कारोबार दैनिकमा रहेको छ ।

गतवर्ष अधिक तरलताको समस्यामा रहेको बैंकहरू चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भने तरलता अभावको समस्यामा छन् । अन्धाधुन्ध अधिक कर्जा प्रवाह गरेपछि दोस्रो त्रैमासमा लगानीका लागि रकम अभाव झेलिरहेका छन् ।

पहिलो त्रैमासको अधिक कर्जा प्रवाहले दोस्रो त्रैमाससम्ममा व्याज आम्दानी बढेको बताउँदै बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले भने, “दोस्रो त्रैमासमा देखिएको तरलता समस्याको असर तेस्रो त्रैमासमा देखिनेछ ।”

बैंकहरूले वढाएको कर्जा प्रवाहअनुसार व्याज आम्दानी पनि बढेकाले नाफा बढेको उनको भनाइ छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरू कर्जा दिन सक्ने अवस्था छैनन् । सिमित तरलता हुँदा वित्तीय क्षेत्रको व्याजदर वढ्न जाँदा खर्च बढे पनि नाफा वृद्धिदरमा भने कमी आएको वित्तीय विवरणले देखाउँदैन ।

बैंकहरूले तीव्र गतिमा चुक्ता पुँजी बढाउँदा त्यस अनुसारको व्यवसाय विस्तार गर्नका लागि धेरै कर्जा प्रवाह गरेका हुन् । जसको असर बैंकहरूको पुँजी र कर्जा निक्षेप अनुपातमा परेको हो । त्यसैले अहिलेको तरलता संकट देखिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।

बैंकहरूले नाफा बढाए पनि सेयरधनीको पैसा परिचालनमा हुने आम्दानी भने घटेको छ । बैंकहरूले सेयरधनीको पैसा परिचालनको अवस्थामा सुधार हुन नसक्नु भनेको समस्या मानिन्छ  ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाइ चार गुणा अर्थात बाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउने नीति लिएपछि बैंकहरूको नाफा सो अनुपातमा बढेको देखिँदैन ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा सरकारी लगानीको नेपाल बैंकले कमाएको छ । यसले एक अर्ब ८९ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ  । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ८०.७९ प्रतिशतले धेरै हो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले नकारात्मक नेटवर्थलाइ सकारात्मक बनाउने क्रममा अचल सम्पत्ती तथा विभिन्न संस्थाहरूको रहेको सेयर स्वामित्व बिक्री गरेको हुनाले बैंकको नाफा वढ्ेको हो ।

नेपाल बैंकपछि निजी क्षेत्रबाट सञ्चालित नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतले धेरै हो । बैंकले गत आवको दोस्रो त्रैमासमा एक अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रकाशित : २६ माघ २०७३, बुधबार ०४:२१