राष्ट्र बैंकको कारण बैंकिङ क्षेत्रमा अराजकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकको कारण बैंकिङ क्षेत्रमा अराजकता



काठमाडौँ, २ फागुन  । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’

नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अवस्थाबाट आय असमानता र विभेद सिर्जना भएको एक बैंकरले बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ ।

यस्तो होडबाजीले अराजकता निम्त्याउन थालेको बैंकरहरू बताउँछन् ।  यसरी बदमासी गरेर बढी नाफा कमाउँदा पनि राष्ट्र बैंक मूकदर्शक बनेपछि बैंकिङ क्षेत्रमा अराजकताले जरो गाड्न सुरु गरेको ती बैंकरले बताए ।

बैंकहरूले कृत्रिम निक्षेप सिर्जना गरेर लगानी गरिरहेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय बजारमा तरलता अभाव भएर बैंकहरूमा लगानीयोग्य रकम नभएपछि अवैध बाटोबाट कृत्रिम (आर्टिफिसियल) निक्षेप सिर्जना गरेर लगानी गरेका हुन् ।

वाणिज्य बैंकहरूले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई ७ दिने अन्तरबैंक लगानी गर्ने र त्यसपछि उनीहरूसँगै निक्षेप लिने काम भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । यस्तो किसिमको चलखेल गरेर ठूलो मात्रामा निक्षेप सिर्जना गरिएको स्रोतको दाबी छ । तर, यस्तो निक्षेपको आकार कति छ भन्नेबारेमा यकिन तथ्यांक आइनसकेको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०३:०१