रसियाली पाइपलाइन परियोजनाले ग्रिसलाई ऋण तिर्न सघाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रसियाली पाइपलाइन परियोजनाले ग्रिसलाई ऋण तिर्न सघाउने



काठमाडौं। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार ग्रिसका प्रधानमन्त्री अलेक्सिज सिप्राससँग वार्तापछि सम्भावित रसियाली प्राकृतिक ग्यास पाइपलाइनले ग्रिसलाई आफ्नो ऋण तिर्न सघाउनसक्ने बताउनुभएको छ । यसो भए पनि क्रेमलिनले ग्रिसलाई प्रत्यक्ष रूपमा वित्तीय सहयोग उपलब्ध गराउने विषयमा भने छलफल नभएको जानकारी दिएको छ ।

विश्वका समाचार संस्थाहरूका प्रमुख कार्यकारी अधिकारीहरूसँगको बैठकमा उहाँले उक्त पाइपलाइनको सम्झौताका विषयमा बोल्नुभयो । उहाँले युरोपेली युनियनले ग्रिसलाई सहयोग गरेको आफूले नदेखेको बताउनुभयो ।

उहाँले युरोपेली युनियनले ग्रिसले ऋण तिरोस् भन्ने चाहेमा उसले ग्रिसको अर्थतन्त्र वृद्धि हुन र ऋण तिर्न सघाउन अभिरुचि देखाउनुपर्ने बताउनुभयो । उहाँले ग्रिसमा रोजगारी सिर्जना गर्नु खराब नभएको बताउनुभयो ।

ग्रिसले यस महिनाको अन्त्यसम्म ऋण तिर्न नयाँ ऋणका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग समझौता गर्न कठिनाइ भोग्नुपरेको छ । जमानत प्राप्त नभएमा ग्रिस टाट उल्टनसक्छ वा ऊ १९ मुलुकयुक्त युरोक्षेत्रबाट बाहिरिनसक्छ ।

ग्रिसका प्रधानमन्त्री सिप्रासको रसियाली राष्ट्रपति पुटिनसँगको भेटमा उहाँले रसियासँग ऋण खोज्नुहुने अनुमान गरिएको थियो । वार्ता अगाडि रसियाली राष्ट्रपति पुटिनका प्रवक्ताले ग्रिसले मागेमा रसियाले ऋण दिने विषयमा विचार गर्नसक्ने बताएका थिए ।

प्रकाशित : ५ असार २०७२, शनिबार ११:४०