निजी क्षेत्रबाट कति थपियो बिजुली ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

निजी क्षेत्रबाट कति थपियो बिजुली ?



काठमाडौ ७ फागुन । यस वर्ष निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट १०५ मेगावाट बिजुली उत्पादन थप भएको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालले बताएको छ। सरकारी अधिकारीहरुले चाहिँ साना आयोजनाबाट पहिलोपटक यति धेरै मात्रामा विद्युत उत्पादन भएको भन्दै त्यसले लोडसेडिङ अन्त्य गर्न निकै सघाउ पुर्याइरहेको जनाएका छन्। एक वर्षभित्र निजी क्षेत्रले अहिलेको भन्दा दोब्बर बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। करिव दुई वर्षअघिको विनाशकारी भूकम्पका कारण २ सय ६२ वटा साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो।

सरकारले १४४ मेगावाटको कालिगण्डकी परियोजना संचालनमा ल्याएयता एकै वर्षमा १०५ मेगावाट विद्युत उत्पादन भएको यो पहिलोपटक हो। यसअघि ५० मेगावाटसम्मका विभिन्न परियोजनाहरुले ३२५ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेका थिए। भूकम्पका कारण सञ्चालनमा आउन नसकेका परियोजनाहरु सञ्चालनमा आएकाले पनि उत्पादन बढेको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्। उनले भने, ‘भूकम्प र नाकाबन्दीका कारण गत साल नै पूरा हुनुपर्ने आयोजनाहरु पनि यो वर्ष आएर पूरा भएका छन् र अब आउने वषर्मा सम्पन्न हुने चरणमा छन्।’  माथिल्लो मर्स्याङ्दी, मादी, माई, दरौंदी, म्याग्दी, खानीखोला, हेवाखोला आदि गरेर १० वटा नयाँ परियोजना यस आर्थिक वर्षदेखि सञ्चालनमा आएका हुन्।

तत्काललाई राजधानीलगायत पोखरा, चितवन आदि सहरमा लोडसेडिङ मुक्त बनाउन साना क्षेत्रको उल्लेख्य भूमिका रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन्। ‘यसपटक निजी क्षेत्रबाट पनि धेरै विद्युत उत्पादन थप भएको कारणले गर्दा उर्जा संकटका कारण जुन असहज परिस्थिति थियो त्यसलाई सामान्यीकरण गर्न र लोडसेडिङ न्यूनिकरण गर्न हामीलाई धेरै सहयोग पुगेको छ।’  आउने वर्ष ५० मेगावाटसम्मका साना परियोजनाले अहिलेको तुलनामा दोब्बर बिजुली उत्पादन गर्ने अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन्।

उनले भने, ‘करिव करिव २ सय मेगावाट जति अब अर्को वर्षदेखि उत्पादन हुने सम्भावना देखिन्छ। त्यसपछिको वर्षमा भनेको ८ सय मेगावाटभन्दा बढी उत्पादन पुर्याउने हाम्रो योजना छ।’ आउने वर्ष काबेली परियोजनाबाट २५ मेगावाट विजुली थपिने छ र दरौंदिका दुई छुट्टा छ्ट्टै परियोजनाबाट ५२ मेगावाट र मादी परियोजनाबाट २० मेगावाट विद्युत उत्पादन हुने गुरागाईँले बताए। उनका अनुसार निजिक्षेत्रका अन्य १५ परियोजना आउँदो वर्ष सञ्चालनमा आउने छन्।बिबिसीबाट

प्रकाशित : ७ फाल्गुन २०७३, शनिबार १२:५२