तेल चोर्न नपाउदा हड्ताल, उपभोक्तालाई सास्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तेल चोर्न नपाउदा हड्ताल, उपभोक्तालाई सास्ती



काठमाडौं, ९  फागुन । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण शुक्रबार, शनिबार र आइतबार पम्पमा लामो लाइन लागेको छ । ट्यांकर चालकले विभिन्न १५ बुँदे माग निगमसमक्ष राखेका छन् ।

तेल चोर्न कडाइ गरिएपछि हडताल :- आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्यांकरबाट २ सय लिटरभन्दा बढी तेल कम देखिए चालकले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवानाबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । निगमले बीचबाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएको हो ।

तर, चालकले यसको विरोध गरेका छन् । उनीहरूले प्राविधिक नोक्सानी हुने भएकाले तोकिएको लक्ष्यभन्दा कम भए परिमाणबराबरको रकम प्रचलित मूल्यअनुसार मात्रै भुक्तानी गर्न सक्ने जनाएका छन् । त्यस्तै निगमले आवश्यकताका आधारमा ट्यांकर थप गर्दा एउटा व्यावसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनुपर्ने मापदण्ड बनाएको छ । चालकले यो मापदण्डको पनि विरोध गरेका छन् ।

अहिले व्यक्तिपिच्छे ट्यांकर चालक हुने र सबैजसो चाकलले आफ्नै ट्यांकरबाट ढुवानी गरिरहेका छन् । धेरै ढुवानी व्यवसायी हुँदा बारम्बार समस्या झेलेको निगमले थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिएर सञ्चालन गर्न खोजेको हो । ट्यांकर साहुसमेत रहेका चालकले एउटा व्यक्तिले एउटा ट्यांकर पनि भाडामा चलाउन पाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले शुक्रबार एक दिन ढुवानी ठप्प पारेपछि निगमले सोमबार चालकलाई बोलाएर छलफल गर्दै छ ।

भण्डारणमा समस्या छैन :- आयल निगमका वितरण विभाग प्रमुख सीताराम पोख्रेलका अनुसार उपत्यकालगायत मुलुकभर वितरण गर्न इन्धन भण्डारणमा कुनै समस्या छैन । ‘आइतबार माग धेरै हुने आँकलन भइसकेको थियो, त्यसैले अन्य समयको भन्दा दोब्बर वितरण गरिएको छ,’ उनले भने ।

आइतबार उपत्यकामा पेट्रोल ८ लाख लिटर र डिजल ७ लाख ५० हजार लिटर वितरण गरिएको उनले बताए । शनिबार सरकारी पम्पलाई २ लाख लिटर पेट्रोल बाँडिएको थियो । सोमबार मागअनुसार वितरण गर्न तयार भएर बसेको उनले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०५:०३