अब सरकारी कार्यालयको भुक्तानी अनलाइनमार्फत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब सरकारी कार्यालयको भुक्तानी अनलाइनमार्फत



काठमाडौँ, १२ फागुन । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार देखि अनलाइनमार्फत गरिने भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा रु २५ हजारभन्दा माथिको भुक्तानी अनलाइनमार्फत उपलब्ध गराइने जनाएको छ ।

हाल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेक जारी गरी कार्यालयमा पठाइन्छ । कार्यालयले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ । बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिनछन् ।

अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी दिए । अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल)मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ । अनलाइनमार्फत भुक्तानी व्यवस्था भएसँगै भुक्तानी पाउन छिटो र सरल हुने उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिएका छन ।

हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाको दाबी छ ।

महालेखाका प्रवक्ता भण्डारीका अनुसार डिजिटल हस्ताक्षर अनिवार्य नभइसकेको अवस्थामा पूर्णरुपमा अनलाइन भुक्तानी दिन सकिँदैन । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ११:०४