मुलुकभरका सडक निर्माणका लागि ३० अर्ब बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुलुकभरका सडक निर्माणका लागि ३० अर्ब बजेट



भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष रु ३० अर्ब बजेट छुट्याएको बताउनुभएको छ ।

विराटनगरमा आज कार्यकर्तासँग भेटघाटका अवसरमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको बेला दिएको रु एक खर्ब बजेटमध्येबाट रु ३० अर्ब सडक निमार्णमा छुट्याइएको स्पष्ट पार्नुभयो ।

धनकुटाको भेडेटारदेखि डाँडाँबजारको राँके हुँदै बुधबारेसम्मको सडक निर्माण र बुधबारेदेखि मोरङको लेटाङसम्मका सडक निर्माण लागि रु दुई अर्ब ७० करोड छुट्याएको मन्त्री निधिले बताउनुभयो । सो बाटो बनेपछि मोरङ, पाँचथर, धनकुटा तथा इलामलगायत पूर्वाञ्चलवासी लाभान्वित हुने उहाँको भनाइ छ ।

अर्काे फरक प्रशङ्गमा मन्त्री निधिले प्रमुख राजनीतिक दलहरुबीच हालै भएको सहमतिबारे सर्वोच्च अदालतको निर्णयले संविधानसभाको क्षेत्राधिकारमाथि हस्तक्षेप नगरेकाले अदालतलाई विवादमा ल्याउने काम कसैले गर्न हुँदैन भन्नुभयो ।

मन्त्री निधिले छिटो संविधान बनाउने नाममा प्रदेशको नामाङ्कन र सीमाङ्कनलाई थाती राख्न नमिल्ने बताउनुभयो ।

संविधानको मूल विषय सङ्घीयताको नामाङ्कन र सीमाङ्कन भएकाले केही समय ढिलो भए पनि यो विषयलाई संविधानसभाबाटै टुङ्ग्याएर संविधान जारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०८:४६