नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको बाँडफाँड कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको बाँडफाँड कहिले ?



काठमाडौं, १६ फागुन । बैकिङ प्रणालीमा ऋणयोग्य तरलताको अभाव शुरु हुन लाग्दा निष्काशन गरिएको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको बाँडफाँड फागुन २२ गतेसम्ममा गरिसक्ने भएको छ ।आवेदनको तथ्यांक प्रशोधन गर्ने काम भइरहेको बताउँदै कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागुन २२ गतेसम्ममा बाँडफाँड सकाउने उद्देश्यका साथ काम अघि बढिरहेको बताएको छ।

सिद्धार्थ क्यापिटलका अनुसार शेयर आवेदन रकम ५४ अर्ब ७० करोड पुगिसकेको छ भने सबैभन्दा बढी आवेदन ३० कित्ता शेयरको लागि परेको छ । कुल २ लाख ५५ हजार आवेदनमध्ये १ लाख ७० हजार आवेदकले ३० कित्ता शेयरको लागि आवेदन गरेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले बताए । त्यस्तै १० कित्ताको लागि २३ हजार २ सय जना र २० कित्ताको लागि ९ हजार ५ सय जनाले आवेदन गरेका छन् । ५० हजारभन्दा माथिको समूहमा भने ५२ हजार आवेदकले ४९ अर्ब रुपियाँ बराबरको आवेदन गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कुल निष्काशित शेयरको ४० प्रतिशत शेयर साना लगानीकर्तालाई र बाँकी ६० प्रतिशत शेयर भने अन्य लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ । ६० प्रतिशतमध्ये पनि संस्थाका कर्मचारीलाई अधिकतम ५ प्रतिशत र बाँकी ५ प्रतिशत शेयर म्युचुएल फन्डलाई दिनुपर्ने भए पनि एफपीओको हकमा दुवै समूहमा शेयर बाँडफाँड गर्न नपर्ने हुँदा साना लगानीकर्तालाई ४० र अन्यलाई ६० प्रतिशत शेयर बाँडफाँड गर्नुपर्छ । बाँडफाँड निर्देशिका अनुसार ५० हजार रुपियाँभन्दा तल शेयर आवेदन गर्ने लगानीकर्तालाई साना लगानीकर्ता मानेर शेयर बाँडफाँड गर्नुपर्छ ।

नेपाल लाइफले ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयर प्रति कित्ता प्रिमियमसहित १४२५ रुपियाँमा आह्वान गरिएको थियो । बाँडफाँड निर्देशिका अनुसार कुल निष्काशित शेयरको ४० प्रतिशत अर्थात १२ लाख ३८ हजार ५ सय ७१ कित्ता शेयर साना लगानीकर्तालाई बाँडफाँड गरिनुपर्छ । सिद्धार्थ क्यापिटलका अनुसार साना आवेदनकर्ता अन्तर्गत २ लाख २ हजार आवेदनकर्तालाई १२ लाख ३८ हजार ५ सय ७१ कित्ता शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । प्रत्येक आवेदनकर्तालाई न्यूनतम १० कित्ता मात्र बाँड्दा पनि न्यूनतम १ लाख २३ हजार ८ सय ५७ जना आवेदनकर्तालाई मात्र शेयर पर्ने सम्भावना छ । बाँकी ७८ हजारभन्दा बढी लगानीकर्ता खाली हात बस्नुपर्ने निश्चित छ ।त्यस्तै अन्य लगानीकर्ता अन्तर्गत कुल निष्काशित शेयरको ६० प्रतिशत अर्थात १८ लाख ५७ हजार कित्ता शेयर ५२ हजार लगानीकर्ता माझ बाँडफाँड गर्नुपर्ने हुन्छ । अन्य लगानीकर्तालाई ५.३ प्रतिशतसम्म शेयर बाँडफाँड गरिने प्रारम्भिक अनुमान छ ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार १२:३८