हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने



पोखरा, १७ फागुन । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ ।

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्ने छ ।

महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।

महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले बताए ।

हेम्जाको करिब ६५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब रु तीन करोडको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले रु १३ करोडको आलु बिक्री गरेका थिए ।

प्रकाशित : १७ फाल्गुन २०७३, मंगलवार ०७:४४