बैंकहरूको सम्पत्ति कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकहरूको सम्पत्ति कति बढ्यो ?



काठमाडौं, फागुन २३ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरूको कुल सम्पत्ति (पुँजी तथा दायित्व) बढेको छ । यस अवधिमा बैंकहरूले खुद सम्पत्ति २२ खर्ब ९१ अर्ब ४८ करोड रुपैयाँ पुयाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

यो पुँजी तथा दायित्व गत आर्थिक वर्षको पुसको तुलनामा ५ खर्ब ७ अर्ब अर्थात २२।१५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूको कुल सम्पत्ति १७ खर्ब ८३ अर्ब ८२ करोड रुपैयाँ थियो ।

बैंकहरूले चुक्ता पुँजी वृद्धि गरेसँगै निक्षेप संकलन पनि बढाएपछि खुद सम्पत्ति वढेको हो । खुद सम्पत्ति बैंकहरूको किताबी मूल्य तथा निक्षेपमा आएको उचारचढाव अनुसार घटवढ हुने गर्छ । तर, बैंकहरूको खुद सम्पत्ति वृद्धि हुनु भनेको आम्दानी तथा नाफालाई पनि संकेत गर्छ ।

बैंकहरूको सम्पत्तिको २२ प्रतिशत वृद्धिले अगामी दिनमा सोही अनुपातको आम्दानी भन्ने बुझिन्छ । तर, बैंकहरूको कुल सम्पत्तिमा देखिएको वृद्धि आम्दानीमा पनि कायम रहनका लागि हालको स्प्रेडदर (बैंकहरूले निक्षेपमा दिने तथा कर्जामा लिने ब्याजदरबीचको अन्तर) कायम हुनुपर्छ ।

बैंकहरूको कुल सम्पत्ति बढ्नु वित्तीय प्रणालीका लागि सकारात्मक रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन् । “बैंकहरूको निक्षेप तथा कितावी मूल्यको वृद्धिले खुद सम्पत्ति वढेको हो,” उनले भने ।

बैंकहरूको अन्य दायित्व पनि हुने भएकाले खुद सम्पत्ति ५ खर्बले वढेको दाहालको भनाइ छ । बैंकले निक्षेप लिई कर्जा लगानी गरेको रकम कुल सम्पत्तिमा पर्छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरूको किताबी मूल्य १ खर्ब ६८ अर्ब रुपैयाँ थियो  । तर, त्यो नेटवर्थ चालू आवको दोस्रो त्रैमाससम्ममा बढेर २ खर्ब ३५ अर्बमा पुगेको छ ।

साथै बैंकहरूको निक्षेप पनि ५ खर्बभन्दा धेरैले वढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकहरूले १४ खर्ब २१ अर्व रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, त्यो निक्षेप चालू आवको दोस्रो त्रैमासमा वढेर १९ खर्ब १३ अर्ब पुगेको छ ।

सबैभन्दा धेरै सम्पत्ति हुने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । सो अवधिमा बैंकको कुल सम्पत्ति १ खर्ब ६४ अर्ब ७३ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको कुल सम्पत्ति एक खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ थियो ।

दोस्रो स्थानमा रहेको निजी क्षेत्रको नबिल बैंकले १ खर्ब ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको कुल सम्पत्ति पु¥याएको छ । गत आवको पुसको तुलनामा बैंकले २० अर्ब रुपैयाँ बराबरको पुँजी तथा सम्पत्ति वढाएको हो ।

सो अवधिमा सबैभन्दा थोरै जनता बैंकको ३० अर्ब रुपैयाँ बरावरको कुल सम्पत्ति छ । यो गत पुस मसान्तसम्मको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको कुल सम्पत्ति २६ अर्ब ५४ करोड थियो ।

प्रकाशित : २३ फाल्गुन २०७३, सोमबार ०४:२३