फरवार्डको आईपीओ बाँडफाँटमा विवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फरवार्डको आईपीओ बाँडफाँटमा विवाद



काठमाडौं, २६  फागुन । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्कासन गरेको साधारण शेयर बाँडफाँटमा अनियमितता भएको भन्दै परेको उजुरीमा धितोपत्र बोर्डले अनुसन्धान थालेको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

एउटै आवेदन नम्बरबाट धेरै फाराम सङ्कलन गरी बाँडफाँट प्रक्रियामा अनियमितता गरिएको भन्दै साना लगानीकर्ताहरूले उजुरीमार्फत बोर्डसमक्ष आग्रह गरेपछि अनुसन्धान थालिएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । उनले उजुरी परेपछि आईपीओको शेयर बाँडफाँटको जिम्मा पाएको शेयर रजिष्टार नबिल इन्भेष्टमेण्ट बैङ्किङसँग कुराकानी गरेको जानकारी दिए ।

‘अहिले आस्बा प्रणालीबाट फारम दर्ता गरिने हुँदा पनि यस्तो गल्ती भएको हुनसक्छ । नियतवश भएको छैन तर प्रविधिगत त्रुटि हुनसक्छ ।’ उनले भने, ‘यसबारे वास्तविकता बुझ्ने काम हुँदै छ । प्रविधिका कारण हो वा नियतवश गरिएको यसबारे हामी अनुसन्धान गर्दै छौं ।’ फरवार्ड कम्युनिटीको शेयरमा एउटै आवेदन नम्बर भएका कतिपय शेयरधनीले एकजनालाई परेको शेयर आफूले पनि पाउनुपर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यशोदा न्यौपानेले धितोपत्र बोर्डमा र शेयर रजिष्टार नविल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडमा निवेदन दिएका थिए ।

आस्बा प्रणाली लागू भएपछि केही प्रविधिगत त्रुटिहरू भएका हुनसक्ने तर आफ्नो कमजोरी नभएको माइक्रोफाइनान्सको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए । उनले ग्राहक र सञ्चारमाध्यमले नबुझी नियतवश अनियमितता गरेको आरोप लगाएकोमा आपत्ति पनि व्यक्त गरे । उनले भने, ‘यो त्रुटि हामीबाट भएको होइन तर पनि हामी नियमनकारी निकायलाई जवाफ दिन तयार छौं ।’

आवेदक भण्डारीले फरवार्ड कम्युनिटीको शेयरमा आफूले आफ्ना भाउजूहरू लक्ष्मी भट्टराई र यशोदा न्यौपानेका साथै आफ्नो नाममा आवेदन गरेकोमा तीनओटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई शेयर परेको देखिएको बताए । उनले भने, ‘यस्तो कसरी भयो ? मेरो आवेदन नम्बरमा शेयर परेको भए मैले पाउनुपर्छ ।’ त्यसैले तीन जनाले छानबिनका लागि धितोपत्र बोर्डले निवेदन दिएको उनले बताए । उनले सामान्य लगानीकर्ता यस्ता किसिमका समस्या पर्दा चुप लागेर बस्ने गरेको भन्दै कुनै पनि किसिमको समस्या आएको खण्डमा धितोपत्र बोर्डलाई जानकारी गराउन आग्रह पनि गरेका छन् ।

फरवार्ड कम्युनिटीको शेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यशोदा न्यौपानेले शेयर आवेदन गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैङ्किङले आफ्नो वेबसाइटमा पहिलो पटक राखेको शेयर बाँडफाँटको नतीजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशङ्कर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रूपक धन्वन्तरीलाई शेयर परेको देखिएको थियो ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहीबार ०४:०९