कृषि क्षेत्रमा बैंकहरूको लगानी ३४ प्रतिशत वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि क्षेत्रमा बैंकहरूको लगानी ३४ प्रतिशत वृद्धि



काठमाडौं, २७ फागुन  । बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्र्रवाह गरेको ऋण ३४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूले गत आर्थिक वर्षको पुससम्ममा ६६ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेकोमा एक वर्षमा २३ अर्ब वृद्धि भई चालू आवको यसै अवधिसम्ममा ८९ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

व्यावसायिक कृषिमा बढेको सर्वसाधारणको आकर्षण र कृषि लगायत उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गनुपर्ने राष्ट्र बैंकको नीतिका कारण लगानी पनि वृद्वि हुँदै गएको छ । कृषि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल लगानीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । त्यसमध्ये १५ प्रतिशत जलविद्युत् र कृषिमा गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले तोकेको मापदण्ड पु¥याउनका लागि बैंकहरूले कृषि कर्जा विस्तार गर्दै लगेका छन् ।

कृषिमा बैंकहरूको लगानी विस्तारका लागि सरकारले गत आर्थिक वर्षको बजेटमार्फत घोषणा गरी व्यावसायीक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ ।

कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यो व्यवस्था अन्तर्गत ३ हजार ९ सय ९६ जना किसानले ४ अर्ब ८० करोड कर्जा उपयोग गरेको र यसबापत बैंकहरूलाई १० करोड ११ लाख ब्याज अनुदान दिइएको राष्ट्र बैंकले जनाएको छ ।

व्यावसायिक कृषिप्रति सर्वसाधारणको आकर्षण बढिरहेको र बैंकमा कर्जाको माग पनि बढेको छ । विषेशगरी व्यावसायिक तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालनलगायतका क्षेत्रमा लाग्ने युवाहरू बढिरहेका छन् । युवालाई व्यावसायिक कृषिमा आकर्षित गराउनका लागि सरकारले साना व्यवसायी तथा युवा स्वरोजगार कोष, व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत पनि व्यावसायिक कृषिमा सहयोग गर्दै आएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ कृषि क्षेत्रमा लगानी बढाउन विभिन्न पहल गरिरहेको बताउँछन् । “कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ भनेर नीतिगत व्यवस्था गरेका छौं,” उनले भने, “सोहीअनुसार कर्जा पनि बढिरहेको छ ।” बैंकहरूको कृषिमा भएको कुल लगानीमध्ये सबैभन्दा बढी पशुपालनमा २६ अर्ब ७६ करोड रुपैयाँ छ । यसैगरी व्यावसायिक खेतीमा १० अर्ब ३४ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०३:२२